अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति नेपालमा विरोध : अमेरिकाले युद्धको आगो झोस्न खोजेको आरोप


काठमाण्डु — अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति नेपालका राजनीतिक दलका नेताहरुले विरोध जनाएका छन् । छिमेकी चीनको कडा विरोधका बावजूत अमेरिकी सभामुख पेलोसी ताइवान पुगेपछी त्यसको नेपालमा समेत विरोध भएको हो । पेलोसीको ताइवान भ्रमणपछी चीन आक्रोसित भएको छ ।

सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पेलोसीको ताइवान भ्रमणप्रति आपत्ति जनाएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले ताइवान चीनको अभिन्न अंग रहको भन्दै चीनको विरोधका बावजूत अमेरिकी सभामुख त्यंहा पुगेर यस क्षेत्रलाई द्धन्द्धतर्फ लैजान खोजेको आरोप लगाए ।

उनले अमेरिकी कदमले पुरै एसियाको शान्तिमा खलल पैदा हुन सक्ने भन्दै भनेका छन् ‘अमेरिकाले समेत एउटा मात्र चीन रहेको स्वीकार गरको छ । चीनसंग कूटनीतिक सम्बन्ध कायम भएका सबै देशहरुले ताइवानलाई चीनको अविभाज्य अंगका रुपमा मान्यता दिएका छन् । त्यसैले पेलोसीको भ्रमण एक चीन सिद्धान्तविपरीत हो । ’

उनले ताइवानको विषयमा चीनले लिएको वैधानिक र शान्तिपूर्ण अडानलाई नेपालले समर्थन गर्ने बताएका छन् ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ताइवानमा अमेरिकी सभामुखको भ्रमणको विरोध जनाएका छन् । उनले पेलोसीको ताइवान भ्रमणले युद्धको आगो झोस्न खोजेको आरोप लगाए ।

बिजुक्छेले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकाले चिनियाँ भूमिमा अस्थिरता फैलाउने र ताइवानमा क्रियाशील विखण्डनकारी सङ्गठनलाई पोस्ने काम गरेको भन्दै विरोध जनाएका छन् ।

अमेरिकाले दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शीत युद्ध’ को अभ्यास गर्दै बिजुक्छेको दावी छ ।

उनले त्यसैको सिलसिलाअन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको भन्दै यसको परिणाम बाइडेन प्रशासनले भोग्नुपर्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण भएको बताएका छन् ।

बिजुक्छेले ताइवान चीनको अभिन्न अङ्ग रहेकोबारे नेपाली जनता दृढ रहेको भन्दै उनले एसियाली र संसारका अन्य मानिसहरूझैँ नेपाली जनताले समेत युद्ध नचाहेको धारणा राखेका छन् ।

चिनियां राजदूत होऊ यान्छीले बुधबार एक विज्ञप्ति जारी गर्दै एक चीन सिद्धान्तमा नेपालको समर्थन कायम रहने विश्वास व्यक्त गरेकी थिईन् । उनले वर्तमान सरकारले त्यही नीति निरन्तरता दिनेमा अविश्वास गर्दै विज्ञप्ति जारी गरेको चर्चा छ ।

होउले ताइवान मामिलामा नेपालको अडानको प्रशंसा गर्दै भनेकी छन् ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको चीन उच्च प्रशंसा गर्दछ । नेपालले विगतझै आगामी दिनमा पनि एक चीन सिद्धान्तको पालना गर्नेमा हामी विश्वस्त छौं ।’

उनले ताइवानको मुद्दा चीनको आन्तरिक मामिला भएको भन्दै हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएकी छन् । विज्ञप्तिमा अमेरिकी सभामुखको भ्रमणको चीनले कडा जवाफ दिने भन्दै यसबाट उत्पन्न हुने सबै नतिजा अमेरिका र ताइवान स्वतन्त्राता पृथकतावादी शक्तिहरुले बेहोर्नुपर्ने चेतावनी दिइएको छ ।

राजदूत यान्छीले दुई देशले आफ्नो सार्वभौमसत्ता,सुरक्षा र क्षेत्रिय अखण्डासम्बन्धी मूल हितका मुद्दाहरुमा एकअर्कालाई बुझ्ने र निरन्तर समर्थन गरिरहेको बताएकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement