नेपाल–स्कटल्यान्ड भिड्दैस् खाँचो स्पष्ट जितको


काठमाडौँ — आयोजक जिम्बावे र स्कटल्यान्डले पहिलो दुवै खेल जितेपछि विश्वकप छनोट क्रिकेटमा नेपालका लागि धेरै समीकरण बाँकी छैन । जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालले बाँकी ३ खेलमा स्पष्ट विजय हात पार्नुपर्छ । सुपर सिक्समा पुग्न अफगानिस्तान र हङकङको चाहिँ खेल जित्नैपर्छ ।

यस्तोमा नेपालले बिहीबार स्कटल्यान्डको सामना गर्नेछ । नेपालसँगको खेलमा विजय हात पारेमा स्कटल्यान्ड सुपरि लगमा पुग्नेछ । समूह ‘बी’ को अर्को खेलमा अफगानिस्तानले हङकङको सामना गर्नेछ । दुवै टोली नेपालजस्तै पहिलो जितको खोजीमा छन् । नेपाल आइतबार बुलाबायोस्थित क्वीन्स स्पोटस क्लबमा भएको खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो ।

जिम्बावेले ३८०–६ को स्कोर बनायो, जुन नेपालले ५० ओभर खेलमा खर्चेको सबैभन्दा बढी रन हो । जिम्बावेले दोस्रो म्याच यही मैदानमा अफगानिस्तानविरुद्ध १ सय ९६ रन बनाउँदै २ रनले जितेको थियो । जिम्बावेसँग २६४–८ को स्कोर बनाउदै नेपालले ब्याटिङमा केही आशा देखाएको थियो ।

‘स्कटल्यान्डले निकै राम्रो खेलिरहेको छ, उनीहरूलाई हराउन हामीले उत्कृष्ट प्रदर्शन दिनैपर्छ । यो यस्तो खेल हो जसमा एउटा क्षेत्रमा मात्र राम्रो गरेर हुँदैन । ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो गर्न सक्नुपर्छ,’ जिम्बावेबाट कप्तान पारस खड्काले भने । जिम्बावेसँग शरद भेषावकर र आरिफ शेखले अर्धशतक तथा पारसले ४० रन बनाएका थिए । लिस्ट ‘ए’ मान्यता खेलमा १ हजार रन बनाउने पहिलो नेपाली खेलाडी बन्न पारस ९ रनले मात्र पछाडि छन् ।

नेपालको मुख्य चिन्ता त्यही पनि ब्याटिङमै छ । विशेष गरी ओपनिङ जोडी ज्ञानेन्द्र मल्ल र दिलीप नाथ जम्न नसक्दा त्यसले पूरै ब्याटिङमा प्रभाव पार्दै आएको छ । दिलीप जिम्बावेसँग २ रनमै आउट भएका थिए । ज्ञानेन्द्रले ५९ बल खेली ३२ रन बनाएका थिए । ‘हामी सबै खेलाडीको रक्षा गर्छौं तर सबैले उत्तिकै योगदान दिन जरुरी छ,’ पारसले भने, ‘प्रतियोगितामा फरक देखिन ब्याट्सम्यानले ठूलो स्कोर गर्नुपर्ने हुन्छ ।’
जिम्बावेसँग नेपाली बलर नराम्रोसँग चुटिएका थिए ।

त्यो खेलबाटै ललितनारायण राजवंशीले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । देव्रेहाते स्पिनर ललितले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिएका थिए । उनले स्कटल्यान्डविरुद्ध खेल्ने नखेल्ने निश्चित छैन । अफ्रिकी भ्रमणमा जानुअघि पारस र प्रशिक्षक जगत टमाटाले जिम्बावे र स्कटल्यान्ड स्पिनरका अगाडि केही कमजोर देखिएकाले नेपाली टोलीमा तेस्रो स्पिनरका रूपमा ललित थपिएको बताएका थिए । ललितलाई नखेलाएमा तीव्र बलर करण केसी प्लेइङ ११ मा फर्किने छन् ।

स्कटल्यान्ड उत्कृष्ट ब्याटिङ गरिरहेको टोली हो । दाबेदार मानिएको अफगानिस्तानमाथि ७ विकेटको जित हात पार्दा स्कटल्यान्डबाट कालुम म्याकलिओडले १ सय ४६ बलमा नटआउट १ सय ५७ रन बनाएका थिए । स्कटल्यान्डले हङकङलाई ९१ रनमा आउट गरी ४ विकेटको जित पाएको खेलमा भने उनी चाँडै आउट भएका थिए । अफगानिस्तानसँग नखेलेका कप्तान केयल कोएट्जरले नटआउट ४१ रन बनाएका थिए ।
स्कटल्यान्डसँग नेपालले यसअघि खेलेका तीनै खेलमा पराजय भोगेको छ ।

सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपाललाई पराजित गर्दै अघि बढेको स्कटल्यान्ड प्रतियोगिता नै जितेर विश्वकपमा पुगेको थियो । त्यसपछि स्कटल्यान्डको आयरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुवै खेलमा पनि नेपाललाई स्कटल्यान्डले पराजित गरेको थियो । च्याम्पियनसिपको उपविजेता बनेपछि स्कटल्यान्ड विश्वकप छनोटमा सोझै पुगेको थियो ।

च्याम्पियनसिपका शीर्ष चारमा नपरेको नेपाल सातौं भई रेलिगेसनमा परी डिभिजन २ मा झरेको थियो । अघिल्लो महिना नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । स्कटल्यान्डपछि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङसँग खेल्नेछ ।

अफगानका विकेटकिपररब्याट्सम्यान मोहम्मद शेहजादलाई आगामी दुई खेलका लागि खेल्न प्रतिबन्ध लगाइएको छ, जसको कारण उनले बिहीबार हङकङ र त्यसपछि नेपालसँग हुने खेल गुमाउने छन् । २४ महिनाको अन्तरालमा उनले दोस्रोपल्ट आचारसंहिता उल्लंघन गरेकाले उनीमाथि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद्ले प्रतिबन्ध लगाएको हो । कान्तिपुर दैनिकमा याे खबर छ ,।

प्रतिक्रिया दिनुहोस
Advertisement