नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायाे


काठमाडौँ –  नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।

“लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,” टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । यसरी रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ । टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुन्छन् । यसबाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका लागि उपयोग गरिरहेको छ ।

९८४ र ९८६ बाट बढीमा टेलिकमले दुई करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ । गत मङ्सिरमै प्रिपेडतर्फको दुई करोड सङ्ख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड उपलब्ध गराइरहेको छ ।

“अपरेटर कोडबाट सिर्जना हुने नम्बरको क्याप पूरा भएपछि अहिले रिसाइकल गर्दै निष्क्रिय सिमकार्डलाई पुनः सक्रिय बनाइरहेका छौँ,” अधिकारीले भन्नुभयो । प्राधिकरणको निर्देशनबमोजिम नै पुराना निष्क्रिय सिमकार्डलाई रिसाइकल गरिएको उहाँको दाबी छ । पुरानो नम्बरको चाहना गर्ने प्रयोगकर्तालाई पनि यसले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ चैत २ गते छ महिनासम्म प्रयोग नभएका सिमकार्ड स्वतः निष्क्रिय गर्नुपर्ने निर्णय गरेको थियो । सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले त्यस्तो निर्णय गरेको थियो ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement