सरकारद्धारा स्वेतपत्र जारी, क–कसले प्रयोग गरे ट्रष्टको जग्गा ? (पूर्णपाठसहित)


काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेका छन् । ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।

नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी जंगलमात्रै छ । त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ ।

दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएका छन् । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन् ।

काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन् । यी अधिकांश सम्पत्ति २०५० सालमा र केही २०५३ सालमा लिजमा दिइएका हुन् ।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको स्वेतपत्रमा उल्लेख गरिएको पाइएको छ ।

ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको शेयर समेत खरिद गरेको छ ।

काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन भएको मन्त्री पोखरेलले स्वेतपत्रमा दाबी गरेका छन् ।

पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस
Advertisement