नेपालद्धारा युएई पराजित,अंक तालिकामा दोस्रो स्थानमा उक्लियो


काठमाडौं -आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ४ विकेटको जित दर्ता गरेको छ । आइतबार नामिबियाको ट्रष्ट युनाइटेड मैदानमा भएको खेलमा नेपालले युएईमाथि ४ विकेटले जित हासिल गरेको हो । यो जितसँगै नेपालको डिभिजन २ शीर्ष दुईमा पर्ने सम्भावनामा कायमै रहेको छ । नेपाल क्यानडापछि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

ओसिलो मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा युएईले पहिले ब्याटिङ गर्दै १ सय १४ रन जोडेको थियो ।
युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा भेट्टायो । नेपालका लागि कप्तानी पारी खेलेका पारस खड्काले अर्धशतक प्रहार गरे । ४८ बल खेलेका पारसले ५ छक्का र दुई चौका प्रहार गर्दै ५१ रन बनाए ।

निरन्तर खराब ब्याटिङ गरिरहेको नेपालले सुरुवातै दुई वटा महत्वपूर्ण विकेट गुमाएको थियो । तर, पारसले आक्रामक ब्याटिङ गर्दै नेपालको विजयका लागि महत्वपूर्ण आधार तयार पारे । आरिफ शेखले १६ रन जोडे । यस्तै, सोमपाल कामी १० तथा रोहित पौडेल १२ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटसम्यान दोहोरो अंक जोड्न सकेनन्

युएईका मोहमद नाभिद र अमिर हायतले दुई दुई विकेट लिए । रोहन मुस्ताफा र अमिर हायतको नाममा एक एक विकेट रह्यो ।
युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए । अदानन मुस्तीले १८ तथा मोहमम्द बोटाले १५ रन जोडे यस्तै, गुलाम साबरले १६ तथा मोहमम्द नाभिदले १० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

३१ ओभरमा १ सय १४ रनमा अलआउट गर्ने क्रममा नेपालका लागि सोमपाल कामीले चार विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट हात पारे । नेपालले आफ्नो पहिलो खेलमा नामिबियामाथि जित हासिल गरेको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement