रक्सीले मातेका सेनाका मेजर शाहीले गरे हंगामा, छानबिन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन


काठमाण्डु – नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीमाथि छानबिन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको छ ।

कैलालीको चिसापानीमा रक्सीले मातेका मेजर शाहीले स्थानीय होटल व्यवसायीसँग अनावश्यक विवाद गरेपछि मुख्यालयले घटनाको सत्यतथ्य पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडलले महासेनानीको अध्यक्षतामा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको जानकारी दिए । ‘कोर्ट अफ इन्क्वाइरी’ ले भोलिबाट छानबिन प्रक्रिया अघि बढाउने उनले बताए ।

‘नेपाली सेनाले महासेनानीको नेतृत्वमा कोर्टअफ इन्क्वाईरी गठन गरेको छ । भोलीबाट सुरु हुन्छ । काेर्ट अफ इन्क्वाइरीबाट जे रिपोर्ट आउँछ त्यही अनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ’, प्रवक्ता पौडेलले भने ।

गत आइतबार राति ११ बजेतिर मेजर शाहीले प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए । चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग मेजर शाहीले विवाद सुरु गरेका थिए ।

त्यसपछि शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवालाई एसएलआरसहित गाडीमा राखेर मेजर शाही पुनः चिसापानी बजार पुगेका थिए । मेजर शाही फर्किएर आएर पुनः बितण्डा मच्चाउन थालेको भन्दै स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए । त्यसपछि हुद्दाले बोकेको राइफलसमेत खोसेर मेजर शाहीले स्थानीयलाई ताकेको प्रहरी स्रोतले जनाएको छ ।

मदिराले मातेका मजेर शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको थियो । आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकामा चोटसमेत लागेको थियो । उनको टाउकोमा १६ वटा टाँका लगाउनु परेको छ ।

सोमबार स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयबीच चिसापानी प्रहरी कार्यालयमा छलफल भएको थियो । छलफलका क्रममा मेजर शाहीले आफूले गल्ती गरेको भन्दै माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement