नेपाली सेनामा नयाँ नेतृत्व : यस्तो छ सेनाले गरेको अपेक्षा


रोशन खड्का

काठमाण्डु – नेपाली सेनाले यसै साता ४४ औं प्रधानसेनापतिका रुपमा प्रभुराम शर्मालाई नेतृत्वका रुपमा पाएको छ । काठमाण्डुमा जन्मे हुर्केका र कहिले विवादमा नआएका शर्मा सेनाभित्र शालीन जर्नेलका रुपमा चिनिन्छन् । उनीबाट सेनाले धेरै अपेक्षा गरेको छ । सेनामा ‘सैनिक कानुन सेनापतिले जानून’ भन्ने उखान निकै प्रसिद्ध छ । आशा छ उनको कार्यकालमा अलि फरक देख्न पाइनेछ र यस्तो उखानमा बदलाव आउनेछ । यसअघिका प्रधानसेनापतिका जस्तो उनको कार्यकालमा बोली र व्यवहारको विरोधाभाष नहोस् भन्ने धेरैले अपेक्षा गरेका छन् ।

ब्राह्मण समुदायबाट नेपाली सेनाको पहिलो प्रधानसेनापति बनेका शर्माबारे केही कुरा उल्लेख गरौं ।

शर्मा सेनामा यस्तो जर्नेल हुन्, जसले प्रधानसेनापति बन्न समेत कहिल्यै दौडधूप गर्नु परेन । नभए यसअघि सेनामा प्रधानसेनापति बन्न संगठनभित्र र बाहिर राम्रै कसरत गर्नुपर्ने अवस्था हुन्थ्यो । तर, उनको हकमा भने त्यो लागू भएन । यद्यपि उनीविरुद्ध समेत राजनीति नभएको भने पक्कै होइन् ।

सेनाका सम्भार, सैनिक सहायक, युद्धकार्य महानिर्देशनालय र बलाधिकृत र बलाध्यक्षरथी विभागमा उनले काम गर्ने अवसर मात्र पाएनन्, त्यहाँ रहँदा उनी कुनै विवादमा समेत आएनन् । जसले गर्दा उनका लागि आज यो मुकामसम्म पुग्न सजिलो भयो । यद्यपि, शर्मा संगठनभित्र लो—प्रोफाइलमा बसेर काम गर्ने अधिकृतका रुपमा चिनिएकाले पनि बाहिर उनको त्यति चर्चा परिचर्चा नभएको हो । उनले आफू निकट अधिकारीहरुलाई समेत हल्लाभन्दा काममा जोड दिन र परिणाम निकाल्न निर्देशन दिइसकेको बताइन्छ ।

शर्माको उपरथी र रथी दुवैमा पदावधी थप भएको थियो । उनी सेनामा भाग्यमानी जर्नेल हुन् । प्रधानसेनापतिको लाइनमा उनी सहायकरथी भएपछि मात्रै आएका हुन् । सेनाका तत्कालीन महासेनानी रतिन्द्र खत्रीको पदावधी थप नभएका कारण शर्माको प्रधानसेनापति बन्ने बाटो सहज भएको हो । यद्यपि, खत्रीको पदावधी थप नहुनुका पछाडि अन्य धेरै कारण छन् । जे भएपनि शर्मा प्रधानसेनापतिसम्म बन्ने अवस्था भने उनको इमान्दारिता र लगनशीलताकै कारण हो ।

काठमाण्डुका रैथाने शर्मा सेनामा सरल र मृदृभाषी अधिकारीका रुपमा चिनिन्छन् । भनिन्छ पिताको छायाँ पुत्रमा देखिन्छ । बुवा प्रोफेसर भएकाले शर्माको स्वभाव पनि प्रोफेसरकै जस्तो भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

यसअघिका अधिकांश सैनिक नेतृत्वको नजिक रहेका शर्मा पुरानो गोरखगणका क्याडेट हुन् । उनी वि.सं. २०४० सालमा श्री पुरानो गोरख गणमा सहायक सेनानीमा भर्ना भएका थिए । पुरानो गोरख गणका अधिकृत भएका कारण पनि उनलाई धेरै पूर्व प्रधानसेनापतिहरुको साथ हुने अपेक्षा गरिएको छ ।

शर्माले प्रधानसेनापति नियुक्त भएलगत्तै सकल दर्जामा पहिलो सम्बोधन समेत गरिसकेका छन् । यसअघिका प्रधानसेनापतिहरु भन्दा उनको कमाण्ड ग्रहण पश्चातको पहिलो सम्बोधन भने अलि फरक पाइएको छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा सुधार गरेको धेरैको विश्वास छ । तर, उनले पनि कामभन्दा बढी हल्ला गरेको भन्नेहरुको संख्या भने सेनामा धेरै छ । थापा सेनाका यस्ता प्रधानसेनापति हुन जसको तीन वर्षे कार्यकाल निकै सुखद् बित्यो । उनले पनि आफ्ना नजिककालाई काखा र पाखा गरेको गुनासो धेरैको छ ।

आफू १ दिनले प्रधानसेनापति बनेका थापाले सेनाको बढुवामा आफू निकटकालाई बढुवा गर्न तीन—तीन महिना बढुवा रोकेको, रथी हुने लाइनमा रहेका उपरथी देव सुवेदीलाई पूर्वाग्रह राखेर प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै राजीनामा दिन बाध्य बनाएको, वरियताक्रममा अघि रहेका उपरथीहरु अनुज बस्न्यात र शेखरसिंह बस्न्यातहरुलाई अवकासमा जान बाध्य पारेर स्वेच्छाचारिता देखाएको आरोप लाग्ने गरेको छ ।

थापाले त्यतिमात्र होइन्, उच्च सैनिक अधिकारीमाथि नै सुराकी खटाएको, मन परेका अधिकृतलाई दोहोरो जिम्मेवारी दिएको र नपरेकालाई किनारामा धकेलेको, उनको कार्यकालमा नातावाद हावी भएको र एउटै प्रकृतिका कसुरमा मनलाग्दी फैसला गरेकोलगायतका दर्जनभन्दा बढी आरोप छन् ।

थापाले वि.सं. २०७५ भदौ २४ मा गरेको पहिलो सम्बोधनको क्रममा सात वटा लक्ष्यहरु तय गरेर काम अघि बढाउने घोषणा गरेका थिए । उनले प्रधानसेनापतिको हैसियतमा सबै विभागहरुसँग गरिएका छलफल र अन्तरक्रियाबाट प्राप्त राय सुझावका आधारमा लक्ष्यहरु निर्धारण गरेको भनेपनि अन्ततः कार्यान्वयन भने फितलो देखिएको थियो । थापाले पनि आफ्ना पूर्ववर्ती प्रधानसेनापतिझै ठुला—ठुला योजना अघि सारेको र काम भने नगरेको एकथरिको आरोप छ ।

सैनिक मुख्यालयभित्रको सानो र जुनियर अधिकृतहरुको समूहले थापालाई विवादित बनाएको मात्र थिएन्, सेनाको सिनियर पंक्तिलाई समेत उनको कार्यकालमा वाइपास गरिएको थियो । जसका कारण उनलाई सिनियर तहबाट सोचेजति सहयोग हुन सकेन । कतिसम्म भने उनले तत्कालीन उपरथी देव सुवेदीलाई बाध्य बनाएर घर पठाएर रथीमा बढुवा गरेका रथी शरद गिरीसँग समेत उनको कार्यकाल भरि सुमधुर सम्बन्ध भएन ।

त्यसका साथै सेनाका धेरै उच्च अधिकारीहरुलाई थापाले कारवाही गरेर बाहिर चर्चा कमाएपनि कतिपय कार्वाही भने उनले पूर्वाग्रह राखेर गरेको सैनिक अधिकारीहरु नै बताउँछन् । सैनिक अधिकृतहरुको जन्ममिति, चाल चलन र शैक्षिक योग्यतालाई उनले प्रतिशोधको अस्त्र बनाएर आफ्ना नातेदार र निकट जर्नेलहरुलाई अवसर दिने गरेका केही घटना पनि सेनाभित्र छन् ।

यसअघिका धेरै प्रधानसेनापतिले कार्यकालको सुरुवातमा प्रचारका लागि नसकिने र स्रोतले नभ्याउने कुरा बोल्ने र कार्यान्वयन पक्ष भने फितलो हुने गरेको थियो । थापाले पनि फायर पावर, इण्टेलीजेन्स, संचार प्रणालीदेखि विशेष फौजको क्षमता अभिवृद्धि गरी प्रभावकारिता बढाउनेसम्मका घोषणा गरेका थिए । जुन कुरा भन्न त सजिलो थियो तर कार्यान्वयन गर्न भने उत्तिकै चुनौतीपूर्ण ।

उनले त्यतिमात्र होइन अधिकृतहरुको बढुवा प्रक्रियामा देखिएका समस्या समाधान गर्नेदेखि डिजिटलाइजेसन प्रणालीलाई युनिटस्तरसम्म विस्तार गर्ने, काठमाण्डु—तराई द्रुतमार्गलाई समयमै सम्पन्न गर्ने, सेनाभित्रको भ्रष्टाचारलाई शुन्यमा झार्ने र नेपाली सेनाको संरचना पुनरावलोकन गर्नेसम्मको योजना अघि सारेका थिए । तीमध्ये केही पूरा भएपनि उनका धेरै घोषणा भने भाषणमै सिमित भए ।

थापाले सेनामा केही हदसम्म सुधार गरेपनि उनको कार्यकालमा प्रचार भएजस्तो भने कुनै परिवर्तन भएको देखिदैन् । सेनाका कमाण्ड संरचना लागु गर्ने र शान्ति सेनामा कोटा प्रणालीको अन्त्य गर्नेलगायतका केही सुधारका काम उनको कार्यकालमा भएपनि रणनीतिक हिसाबले भने सेनालाई दीर्घकालीन हिसाबले फाइदा पुग्ने काम भने उनीबाट समेत हुन सकेन । समग्रमा भन्दा उनको तीन वर्षे कार्यकाल आफ्ना पूर्ववर्ती प्रधानसेनापतिका गल्ती खोज्नैमा बित्यो ।

थापाले आर्थिक अनियमितता गरेको आरोपमा केही उच्च अधिकारीहरुलाई कार्वाही गर्ने काम गरेपनि काठमाण्डु– तराई द्रुतमार्गमा विना प्रतिस्पर्धा आफ्ना नातेदार र निकट व्यापारी एजेण्ट रहेको चिनियाँ कम्पनीलाई अर्बौको ठेक्का दिएर जाँदाजाँदै विवादित बनेका थिए । यद्यपि, उक्त ठेक्कामा उनको भूमिका के थियो र कतिसम्म बदमासी भएको थियो भन्ने कुरा भविष्यमा अझै थप प्रष्ट हुँदै जाला ।

त्यतिमात्र होइन गलील र एम—१६ जस्ता अत्याधुनिक हतियार बोक्ने नेपाली सेनालाई के कारणले, कसको स्वार्थमा दक्षिण कोरियाबाट के २ ल्याउन पहल गरियो भन्ने कुरा पनि रहस्यकै गर्भमा छ । सेनालाई आधुनिकरण बनाउने भाषणबाजी गरेका थापाले खरिदका लागि व्यवस्था भएको बजेट समेत सदुपयोग गर्न सकेनन् । सेनालाई उद्दारमा आवश्यक पर्ने हेलिकप्टर खरिद नगर्नु, सर्विलेन्स राडार ल्याएर सेनालाई एयर डिफेन्स सिस्टम समेत बलियो बनाउन नखोज्नुले उनले काम कम भाषणाबाजी बढी गरेको पुष्टि हुन्छ ।

थापाको कार्यकालमा सैन्य कूटनीतिसमेत निकै कमजोर बन्यो । उनले छिमेकी मुलुकहरुसँगको सम्बन्ध समेत समुधुर बनाउन सकेनन् । अमेरिका भ्रमणमा जाँदा समकक्षी सेनापतिसँग भेट्ने पूर्व निर्धारित कार्यक्रमलाई स्थगन गरेर सेकेण्ड म्यानलाई भेट्ने, स्टेट पार्टनरसीप कार्यक्रम र संयुक्त सैन्य अभ्यास रोक्नेलगायतका कामले नेपाली सेनाको परम्परागत सम्बन्ध समेत उनका कारण धुमिल हुन पुग्यो ।

आफूलाई राष्ट्रवादी भएको सन्देश दिन उनले वैदेशिक सम्बन्धमा जोड दिएनन् । तालिम, हतियार र अरु विभिन्न बन्दोबस्तीका सामानहरुमा परनिर्भर अवस्थामा रहेको नेपाली सेनाको ऐतिहासिक सम्बन्ध समेत उनको कारण बिग्रेको नेपाली सेनाका उच्च अधिकारीहरु बताउँछन् । चीनबाट स्वास्थ्य सामाग्री ल्याउने प्रकरणमा समेत चिनियाँसँग उच्च तहको सैनिक सम्बन्ध नहुँदा समस्या हुनु त्यसैको एउटा गतिलो उदाहरण थियो । सेनापति तहको सम्बन्ध चीनमा भएको भए सेनाले ल्याउन लागेको स्वास्थ्य सामाग्री चीनका विमानस्थलमा हप्तौसम्म रोकिने अवस्था आउने थिएन ।

शर्माले प्रधानसेनापति भएपछि गरेको पहिलो सम्बोधनमा भने थापाको भन्दा अलि फरक सन्देश दिन खोजेका छन् । शर्माले थापाले अंगालेका सात सिद्धान्तबाट घटाएर ४ मार्ग निर्देशक सिद्धान्तलाई प्रमुख आधारमा रुपमा अंगीकार गर्ने घोषणा गरेका छन् । उनले नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्धता जनाउनुका साथै सैनिक मूल्य मान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना गर्ने दावी गरेका छन् ।

त्यसका साथै विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्ने र अन्तिममा ‘बहुजन हिताय, बहुजन सुखाय’को मान्यताअनुसार विस्तारित कल्याणकारी कार्यमार्फत सकल दर्जा र तिनका आश्रित परिवारको जीवनस्तरमा सुधार ल्याउने बताएका छन् ।

शर्माले अरुजस्तो रणनैतिक र महत्वकांक्षी भन्दा गर्न सकिने कामको फेरिहस्त पहिलो सम्बोधनमा सुनाएका छन् । जसलाई पूरा गरेको खण्डमा सेनामा सकारात्मक उर्जा प्रवाहित हुने देखिन्छ । उनले नेपाल सरकारले उपलब्ध गराएको स्रोत साधनभित्रै रहेर र सेना आफैसँग भएको स्रोतलाई प्रयोग गर्नेमा बढी जोड दिएका छन् । यसलाई नेपालको सन्दर्भमा सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । राज्यसँग भएको सिमित स्रोत—साधनलाई आधार मानेर हाम्रा नीति र योजनाहरु बनाएको खण्डमा त्यो लागु गर्न समेत सजिलो हुनेछ ।

आधुनिकीकरण र व्यवसायीकरणका ठुला–ठुला कुरा गर्ने तर स्रोत साधन नहुँदा ती नारामा मात्र सिमित हुने सेनाभित्रको पूरानै रोग हो । यसअघिका प्रधासेनापतिले पनि घोषणा गरेका कतिपय योजनामा अहिलेसम्म नेपाल सरकारले १ रुपैंयाँ बजेटसमेत विनियोजन नगरेका धेरै उदाहरण छन् ।

शर्माले सेनाको दीर्घकालीन सोच, २०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गर्ने भिजन अगाडि सारेका छन् । त्यसका साथै उक्त भिजनलाई मूर्तरुप दिन राष्ट्रिय सुरक्षा, संगठन संचालन, व्यवसायिक तालिम, पेसागत वृत्ति विकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा उनले राखेको देखिन्छ ।

केही रणनीतिक काममा समेत उनको नजर परेको छ । प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिअनुरुपको सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ परिवर्तन गर्ने घोषणा समेत गरेका छन् । त्यसैलाई आधारमा मानेर २ जोड १ कमाण्डको कार्यान्वयनमा पनि ध्यान दिनेमा उनको तयारी छ । २ जोड १ कमाण्डलाई सेनाको मेरुदण्डका रुपमा लिइएको छ ।

शर्माले चेन अफ कमाण्डलाई पूर्ण रुपमा लागु गर्ने र संगठनलाई सिमित समूहको हितमा उपयोग गर्ने र फौंजको मनोबल गिराउनेजस्ता अवाञ्छित गतिविधी स्वीकार्य नहुने महत्वको घोषणा समेत गरेका छन् । ब्राह्मण समुदायबाट पहिलो प्रधानसेनापति भएका शर्माले उक्त घोषणामार्फत आफू यसअघि जस्तो गुटमा नचल्ने सन्देश स्पष्ट रुपमा दिएका छन् ।

निवर्तमान प्रधानसेनापति थापालाई पनि सानो समूहले आफू अनुकूलमा चलाएको गुनासो सेनाभित्र थियो । शर्माले पनि अहिले आफ्नो टिम निर्माण गरिसकेका छन् । त्यसमा उनको टिमले कसरी निष्पक्ष र निःस्वार्थ भएर काम गर्छ त्यो भने हेर्न बाँकी नै छ । तर, उनको टिममा रहेका धेरै सैनिक अधिकारीहरुको पृष्ठभूमी भने लोभलाग्दो छ । उनीहरु सेनामा कार्य सम्पादन, विगत र क्षमताको दृष्टिले अब्बल मानिएकाहरु छन् ।

सेनापतिको पहिलो सम्बोधनमा सकल दर्जा र हिताधिकारीहरुको कल्याणकारी कार्यको लागि सेवा सुविधाहरु विस्तार गर्ने, मध्यम तहका सैनिक अधिकारीहरुको वृत्ति विकासमा ध्यान दिने, तालिमलाई असरदार बनाउने, नेपाली सेनालाई जिम्मेवारी प्राप्त द्रुत मार्गलगायत अन्य महत्वपूर्ण काम समयमै सम्पन्न गर्न प्रयास गर्ने, संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाको गुणात्मक सहभागिता वृद्धि गर्दै सेनालाई विश्वसनीय र भरपर्दो संस्थाका रुपमा विकास गर्ने, सैनिक नागरिक सम्बन्ध, रक्षा मन्त्रालय र सेनाको सम्बन्ध, संचार माध्यमसंगको सम्बन्ध अझै मजबुत बनाउने घोषणा गरेका छन् । जुन कुरा आफैंमा सकारात्मक छन् ।

समग्रमा नयाँ प्रधानसेनापति शर्माले सरकारबाट प्राप्त र आफ्नै स्रोत साधनलाई उपयोग गरेर गर्न सकिने योजना अघि सारेका छन् । त्यतिमात्र होइन्, सेनाभित्रको सुधार र संगठनका सकल दर्जाको कल्याणकारी काममा आफ्नो ध्यान केन्द्रीत गर्ने संकेत गरेका छन् । त्यसले फौंजको मनोवल बढ्नुका साथै सेनालाई अनुशासित, एकतावद्ध र मजबुत बनाउन मद्दत मिल्नेछ । सेनामा धेरै प्रधानसेनापतिको पहिलो वर्षको कार्यकाल निकै गरम हुने गर्दछ । तर, शर्माले सुरुमा नै नरम खालको कार्ययोजना अघि सारेका छन् । जसलाई संगठनभित्र र बाहिर सकारात्मक र सम्भव हुने योजनाका रुपमा लिइएको छ ।

नेपालको सन्दर्भमा सेनाले आफूलाई सबै हिसाबले आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ । त्यसका लागि एउटै प्रधानसेनापतिको कार्यकालमा पूरा नहुन सक्छ । तर, त्यतातिर कदम भने चाल्नुपर्ने हुन्छ । तालिम, वैदेशिक सम्बन्ध र स्रोत साधनले सम्पन्न गर्दै एउटा मजबुत ‘नेपाली सेना’ बनाउनु आजको आवश्यकता हो । व्यवसायिक र अराजनैतिक संगठनका रुपमा पहिचान बनाउन सफल नेपाली सेना अराजनैतिक संगठन भएपनि बेला—बेलामा विभिन्न विवादमा भने आउने गरेको छ ।

सेनाले कतिपय अवस्थामा प्यारालल सरकारजस्तो व्यवहार पनि गरिरहेको हुन्छ । खासमा सेना भनेको सरकारको एउटा अंग हो र त्यसैअनुरुप सेनाले सरकारको मातहतमा बसेर राज्यलाई सहयोग गर्नु उसको कर्तव्य हुन जान्छ । सेनाले सरकारको प्रतिस्पर्धी संस्थाजस्तो ठान्नु हुुदैन पनि ।

कतिपय प्रधानसेनापतिले आफूलाई सरकारको विकल्पको रुपमा बेला—बेला प्रस्तुत गर्न खोज्ने र त्यसले सरकारसँगको सम्बन्ध बिग्रने गरेका उदाहरण विगतमा धेरै छन् । संस्थागत स्वार्थका लागि सरकारलाई आफ्ना एजेण्डा पूरा गर्न विश्वासमा लिने काम पनि सैनिक नेतृत्वले गर्नुपर्छ ।

सेनापतिले सस्तो लोकप्रियताका लागि संगठनलाई कमजोर बनाउने काम गर्ने, गुटबन्दी गर्ने र गर्न नसकिने कामहरुको योजना बनाउने तर पूरा नगर्ने भन्दै आलोचना समेत हुने गरेको छ । सेनामा एउटा भनाइ छ—प्रधानसेनापतिको तीन वर्षे कालकालमध्ये ‘पहिलो वर्ष गरम, दोस्रो वर्ष नरम र तेस्रो वर्ष वेसरम’ हुने गर्छ । आशा गरौं, हालका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल त्यो भन्दा फरक हुनेछ । शुभकामना ।

प्रतिक्रिया दिनुहोस