बाढी पहिरो तथा पीडितहरुको खोज, उद्धारमा नेपाली सेना


काठमाण्डु – विगत तीन दिनदेखी परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी/पहिरोबाट प्रभावितलाई स्थानहरुमा नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालन गरि खोज तथा उद्धार कार्यलाई जारी राखेको छ ।

शनिबार ईलाम नगरपालिका– ६ गढी निवासी स्थानीय कमला विश्वकर्माको २ तले कच्ची घरको गाह्रो चर्किई जोखिमपूर्ण भएको हुँदा घरमा सेनाको उद्धार टोलीले रहेका सर सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उक्त घरमा बसोवास गर्ने परिवारलाई सोही स्थानमा अस्थायी बासस्थानको व्यवस्था मिलाएको छ ।

सिरहाको सिरहा नगरपालिका–६ र १२ जोड्ने पुलमा बाढीले क्षति पु¥याएपछि सेनाको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानिय बासिन्दाको सहयोगमा करीब ३०० बोरा माटो भरी पुललाई मजबुत बनाउने कार्य गरेको छ । त्यस्तै बांकेको कोहलपुर नगरपालिका– १२ महेन्द्र राजमार्ग स्थित सरस्वती बन ईलाकामा खयरको रुख ढलेर सडक अबरुद्ध भएको हुँदा सेनाको टोलीले उक्त रुख पन्छाई अवरुद्ध सडक सुचारु गरेको छ ।

त्यस्तै सेनाको उद्धार टोलीले नवलपरासीको मध्यविन्दु नगरपालिका– १० स्थित डुवानमा परेको हुलाक कार्यालयमा बसोबास गर्दै आईरहेका पुन्यकान्त पोख्रेलको परिवारका सदस्यहरु लगायत अन्य सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

कैलाली, गौरीगंगा नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्ग स्थित शिवगंगा धार्मिक सामुदायिक वन ईलाकामा घाँस/दाउरा गर्न गएका दुई स्थानिय नदीमा थुनिएपछि सेनाको उद्धार टोलीले उनीहरुको सकुशल उद्दार गरेको छ । साथै मोहन्याल गाउँपालिका – ५ स्थित मसुरियातर्फ जाने मोटरेबल बाटो पहिरोले अवरुद्ध भएपछि सेनाको उद्धार टोलीले उक्त पहिरो हटाएका थियो ।

त्यसैगरी सुनसरको, रामधुनी नगरपालिका– ५ झुम्का बजार स्थित म्याजिक सिनेमा हलको चौथो तल्लामा बिद्युतीय तार सर्ट भई आगलागी भएपछि सेनाको विपद व्यवस्थापन टोली, स्थानिय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा संयुक्त रुपमा ६ वटा जुद्धबारुण यन्त्रको सहयोगमा उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement