नेपाली भू-उपग्रह अन्तरिक्षतर्फ :सफल परीक्षण भए तीन वर्ष अन्तरीक्षमै रहने

नेपाली भू-उपग्रह अन्तरिक्षतर्फ :सफल परीक्षण भए तीन वर्ष अन्तरीक्षमै रहने


काठमाडौं – नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षतर्फ पठाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट–१’ नेपाली समयअनुसार आज (बिहीबा)० बिहान २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको हो ।

अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पु(याउनेछ । नेपालसहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि पठाएको छ । श्रीलंकाको बिहान २ः१६ र जापानको ५ः४६ मा पठाएको छ । स्याटेलाइट प्रक्षेपणको अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रत्यक्ष प्रसारण गरेको थियो । नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलका अनुसार आइएसएसमा रहेका अन्तरिक्षयात्रीले एक महिनासम्म भू–उपग्रहबारे थप परीक्षण र अध्ययन गर्नेछन् ।

सफल परीक्षण भए डेढ महिनापछि भू–उपग्रहलाई अन्तरिक्षको पृथ्वी कक्षमा छाडिने नास्टका प्रविधि विभाग प्रमुख डा। रवीन्द्र ढकालले बताए । त्यतिवेला उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब चार सय किलोमिटरमाथि नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म रहनेछ । उपग्रहले खिचेर पठाउने तस्बिर र त्यसबाट प्राप्त तथ्यांकका आधारमा नेपालले थुप्रै उपलब्धि लिन सक्ने डा। ढकाल बताउँछन् । दैनिक मौसम र विपत्सम्बन्धी पूर्वजानकारीसँगै तथा जलवायु परिवर्तनबारे अध्ययनमा नेपाललाई सहयोग पुग्ने उनले बताए । स्याटेलाइटमा ४३७ मेघाहर्जको युएचएफ ब्यान्ड प्रयोग गरिएको छ ।

जसले बनाए नेपाली भू–उपग्रह
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा भू–उपग्रह निर्माण गरिएको हो । क्युटेकको बड्स–३ परियोजनाअन्तर्गत नेपाली वैज्ञानिक आभाष मास्के नेतृत्वको टोलीले डेढ वर्ष लगाएर नेपाल, श्रीलंका र जापानका सानो आकारका भू–उपग्रह बनाएको हो । परियोजनामा नास्टका वैज्ञानिक हरिराम मास्केसहित जापान र श्रीलंकाका समेत केही विद्यार्थी वैज्ञानिक सहभागी थिए । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।