अध्यादेशप्रति कांग्रेसको विरोध, सरकारले राष्ट्रपतिको पदीय मर्यादाको धज्जी उडाएको आरोप


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशप्रति आपत्ति जनाएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेपछि कांग्रेसले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका हुन् ।

‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, उनले भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ । ’

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले चोरबाटोबाट अध्यादेश जारी गरेर सर्वसत्तावादी चरित्र एक पटक फेरी सबै सामु उदांगिएको बताएकी छन् ।

‘चलिरहेको प्रतिनिधि सभालाई हठात् बन्द गराएर चोर बाटोबाट सात–सात ओटा अध्यादेश ल्याउने कामले सरकारको सर्वसत्तावादी चरित्र एक पटक फेरी सबै सामु उदांगिएको छ’, उनले भनिन्, ‘त्यसमा पनि विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई दोश्रो पटक फेरी जारी गरिएको छ। संसदीय मूल्य र मान्यता विपरितको यस्तो कदमलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार्न सक्दैन ।’

सांसद संग्रौलाले संसदमा विश्वासको मत लिने घोषणा गरि सके पछि आधा दर्जन बढी अध्यादेश जारी गर्न लगाएर सरकारले राष्ट्रपतिको पदीय गरिमाको पनि धज्जी उडाएको आरोप लगाएकी छन् ।

‘ म यी सम्पूर्ण अध्यादेशहरु तुरुन्त फिर्ता गरी संसदको बजेट सत्रमा विधेयकका रूपमा पेश गर्न माग गर्दछु’, उनले भनिन् ।

त्यस्तै कांग्रेस सांसद गगन थापाले पनि सरकारले उक्त अध्यादेश फिर्ता गरेर सदनमा पेश गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु लोकतन्त्रका लागि नै दुर्भाग्य भएको बताएका छन् ।

‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ । संविधानको मर्म विपरित छ । राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो । अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement