काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दैछ ।
कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिको बैठक बस्न लागेको हो ।
यसअघि पार्टीले खडकालाई विज्ञप्ति जारी नगर्न र समानान्तर गतिविध नगर्न सचेत गराएको थियो। तर खड्काले पार्टीको निदेर्शन विपरीत फेरि विज्ञप्ति जारी गरे पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने भन्दै संस्थापन पक्षलाई चेतावनी दिएका थिए ।
पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोप खड्कामाथि छ । उनलाई अनुशासन भंग गरेकोमा कारबाही गर्ने तयारी छ । खड्काले कावा सभापति’कै हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि कांग्रेस कारबाहीको तयारीमा लागेको हो ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याडमा विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराएको थियो ।
केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले खड्काको नाम उल्लेख नगरी अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
सभापति गगनकुमार थापाले पनि खड्कामाथि कारबाहीको संकेत गरेका छन् । मंगलबारदेखि सुरू जरा अभियानमा उनले अब धेरै नसहने बताएका थिए ।
खड्काले निर्वाचन आयोगको निर्णयमा समर्थन नभएकाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिका रूपमा आफू कायमै रहेको दाबी गरिरहेका छन् ।
यस्तै कांग्रेसले बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि तय गरेको छ । बैठकमा मुख्य रूपमा वैशाख ४ गते हुने संसदीय दलको नेता चयन, १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा छलफल हुनेछ। पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुनेछ ।




प्रतिक्रिया