काठमाण्डु – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पत्रकार पक्राउ र न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
्कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाएको छ । कांग्रेसले त्यसका लागि तत्काल संसद् बैठक बोलाउन पनि माग गरेको छ।
सोमबार बसेको पार्टी संसदीय दलको बैठकले पत्रकार धरपकड लगायतका घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताए। पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बैठकले ठहर रहेको छ ।
साथै बैठकले पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिविना नै समाचार कक्षमार्फत पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासन विपरीतको स्वेच्छाचारिता हो,’ नेता आङदेम्बेले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ।’
यस्ता गतिविधि मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाएर आफू अनुकूलको शासन लाद्ने खतरनाक षड्यन्त्र भएको बैठकको निष्कर्ष रहेको पनि बताए ।
साथै दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बैठकले माग गरेको छ ।
सरकारका राम्रा काम, जनसरोकारका विषय र सुशासनमा कांग्रेसको समर्थन रहने भए पनि विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने उनले चेतावनी दिए।
न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने र सरकारका कामकारबाही कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ।
निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको भन्दै कांग्रेसले सरकारका पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठाएको जनाएको छ।


प्रतिक्रिया