कांग्रेसमा जोडघटाउ : को बन्ला पार्टी सभापति ?


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल सुरु भएको छ । आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय भएपछि पार्टी नेतृत्वको दौड चलेको छ ।

पार्टीमा अझै क्रियाशील सदस्यहरूको टुंगो लागिसकेको छैन । केही दिनअघि बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्य दोब्बर बढाएर १० लाख पु¥याउने सहमति गरेको छ । तर त्यसलाई टुंगोमा पु¥याउन सकिएको छैन ।

क्रियाशील सदस्यको टुंगो, महाधिवेशन प्रतिनिधि चयन नहुँदै कांग्रेसमा गुटबन्दी, भेटघाट, सार्वजनिक र सामाजिक सञ्जालमा बहस, छलफल सुरु भएको छ । कोरोना भाइरस संक्रमणको महामारी कहिलेसम्म रहने निश्चित नभएका कारण तोकिएकै समयमा महाधिवेशन होला भनेर भन्न सकिने अवस्था पनि छैन । तर नेताहरूले आन्तरिक तयारीलाई तीब्र पारेका छन् ।

मुख्यगरी कांग्रेसमा तीन गुट देखिन्छन्, सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको गुट । यीभित्र पनि अनेक उपगुट छन् । यी तीनै गुटभित्र पनि सभापतिका सर्वमान्य आकांक्षी छैनन् ।

कांग्रेसको संस्थागत गुटबाट सभापति शेरबहादुर देउवाले नै पुनः सभापति दोहोरिने इच्छा व्यक्त गरेका छन् । देशभरका आफू निकट नेताहरूलाई विभिन्न विभागमा नियुक्ति दिने अभियानलाई पुनः सभापति दोहोरिने योजनाका रूपमा हेरिएको छ । संस्थागतइतर समूहका नेताहरूले विभाग गठनमा आपत्ति जनाएका छन् ।

सभापति देउवासँगै उपसभापति विमलेन्द्र विधिले समेत आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने इच्छा व्यक्त गरेका छन् । देउवा र निधिबीच भएको पछिल्लो भेटमा निधिले संस्थागत समूहबाट आफू सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने माग गरेका छन् ।

१३ औं महाधिवेशनमा देउवालाई सघाउँदा पाएको आश्वासन अनुसार १४ औं महाधिवेशनमा आफू नै सभापतिको उम्मेदवार बन्ने निधिको अडान छ । तर देउवाले निधिसामू आफू पुनः सभापति हुने र यसपालि सघाउन आग्रह गरेका छन् ।

संस्थापन समूहभित्र मधेश क्षेत्रमा राम्रो पकड भएका निधिले देउवालाई नसघाएको अवस्थामा देउवा पुनः सभापति बन्नसक्ने अवस्था कमजोर हुन्छ भने देउवाको सहयोग विना निधि पनि सभापति बन्न सक्दैनन् ।

संस्थापन समूह भित्रको प्रतिस्पर्धाले संस्थापनइतरलाई फाइदा पुग्ला त ?

१३ औं महाधिवेशनमा संस्थापनइतर समूह वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनाव लडेको थियो । तर पौडेल देउवासँग पराजित भए । यसपालि यो समूहमा पनि पौडेल सर्वमान्य उम्मेदवार बन्ने सम्भावना देखिँदैन । पौडेलले साथ पाइरहेको कोइराला परिवारको विरासत यसपालि आफैं सभापतिमा भिड्ने तयारीमा छ । केन्द्रीय सदस्य शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले आफूमध्ये एक जना सभापति उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् ।

शेखर कोइराला महिनौं अघिदेखि देशदौडाहामा छन् भने शशांक पनि महामन्त्री भएका कारण स्वतः सभापतिका आकांक्षी देखिन्छन् । कोइराला परिवारबाट एक जना सशक्त आकांक्षी देखिएमा पौडेलको दाबी कमजोर पर्न सक्ने कांग्रेस स्रोतले जनाएको छ । कांग्रेसमा कोइराला परिवारको विरासत बलियो छ । पार्टीभित्र अल्पमतमा रहेका बेला कोइराला परिवारको सहयोग विना पौडेल सभापति बन्न सक्दैनन् भने पौडेलको सहयोग विना कोइराला परिवारका उम्मेदवारलाई समेत सभापतिको निर्वाचन जित्न सहज हुने छैन ।

तेस्रो समूहबाट कृष्णप्रसाद सिटौला आफैं सभापतिको उम्मेदवार बन्न सक्छन् । तर सिटौला सभापति जित्नसक्ने अवस्थामा भने छैनन् । उनले अन्तिम चरणको निर्वाचनमा कसैलाई सघाएर अरुलाई सभापति बनाउन निर्णायक भूमिका खेल्न सक्छन् । सिटौला समूहबाट लोकप्रिय नेता गगन थापाले पनि जोखिम मोलेर सभापतिमा उम्मेदवारी दिने बताउने गर्छन् । तर यसपालि थापाको अन्तिम दाबी महामन्त्रीमा रहेको स्रोतहरू बताउँछन् । सिटौला समूहले थापालाई महामन्त्री बनाउने शर्तमा देउवा वा पौडेल समूहका उम्मेदवारलाई सघाउने सम्भावना रहेको देखिन्छ । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले समेत सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । तर उनी पनि कुनै गुटको सर्वमान्य उम्मेदवार बनिसकेका छैनन् ।

कांग्रेसको महाधिवेशनमा गुटकै बलमा नेतृत्व चयन हुने गरेको छ । कांग्रेसको गुटबन्दी वडा, गाउँ÷नगर, निर्वाचन क्षेत्र हुँदै केन्द्रसम्मै हाबी छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जुन गुटका बढी निर्वाचित भएर आउँछन्, त्यहीँ गुटका उम्मेदवार सभापति निर्वाचन जित्ने सम्भावना रहन्छ । कांग्रेसमा सभापतिको उम्मेदवार हेरेरभन्दा पनि गुट हेरेर मतदान गर्ने परिपाटी भएकाले अहिल्यै यसै हुन्छ भनेर भन्न सकिँदैन ।

पार्टी परिचालन कमजोर भएको, निर्वाचनमा पराजय भोग्नुपरेको, प्रतिपक्षीको भूमिका सशक्त नभएको लगायत आरोपले जनस्तरमा देउवाको छवि खराब र आलोचित छ । अधिकांश कार्यकर्ता पंक्ति समेत देउवासँग सन्तुष्ट छैन । तर महाधिवेशन प्रतिनिधिहरूले जनअपेक्षाभन्दा पनि गुटको स्वार्थलाई प्राथमिकतामा राख्ने भएका कारण गुट–उपगुट मिलाउन सकेमा पुनः देउवा नै सभापति बन्न सक्ने पनि देखिन्छ ।

संस्थापन देउवा समूहमा आन्तरिक कलह चुलिएमा पौडेल–कोइराला समूह एकवद्ध हुन सके त्यहाँबाट समेत सभापति जित्ने सम्भावना रहन्छ । कांग्रेसका गुटगत समूहभित्र उपगुट मिलाएर समूहको सर्वमान्य उम्मेदवार बन्ने÷बनाउने काम चाहिँ पेचिलो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement