इतिहास रचेको नेपाली क्रिकेट टीमलाई स्वागत गर्न विमानस्थल पुगे खेलकुदमन्त्री


काठमाडाैं–विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फिर्ता भएको छ।

आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिमलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्‍वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेल पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

नेपाली टिमलाई माला र खादा लगाइदिएर स्वागत गरियो।

१५ सदस्यीय टोलीमा १४ जना स्वदेश फर्किए। तर, मध्यक्रमका ब्याट्समेन शरद भेषावकर उतैबाट अमेरिका गएका छन्।

समर्थकहरुले ‘ओडीआई स्टाटस पाइयो, रंगशाला चाहियो’, ‘टुँडिखेलमा खेलेर विश्वकपमा पुगिँदैन’, क्यान विवादको समाधान गर’, ‘मूलपानी रंगशाला छिटो सम्पन्न गर’ लगायतका नारा लगाएका थिए ।

विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यताको उपलब्धिले क्रिकेट विकासका लागि आर्थिक सहयोग, खेलाडीको सुविधा लगायतमा सुधार हुने अपेक्षा राखे।

अबको लक्ष्य अर्को विश्वकप खेल्ने र १०–१२ वर्षमा टेष्ट मान्यता दिलाउने गरी योजना बनाउनुपर्ने बताउँदै खड्काले भने, ‘यो विश्वकपमा छनोट हुन सकेनौं, हाम्रो लक्ष्य अर्को विश्वकप खेल्ने हो र आगामी १०–१२ वर्षभित्रमा टेष्ट मान्यता पाउने गरी योजना बनाउनुपर्छ ।’

तस्बिर साभार: थाहाखबरबाट।

प्रतिक्रिया दिनुहोस
Advertisement