शान्ती सेनामा नेपाली महिला सैनिकको संख्या बढ्ने


काठमाडौं- संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा सहभागी मुलुकलाई महिला सैनिकको संख्या बढाउन आग्रह गरेको छ । नेपाललाई समेत यस्तो आग्रह गरिएको जानकारी सैन्य अधिकारीले दिएका छन् ।

ती अधिकारीका अनुसार अब नेपाली महिला सैनिकले अधिकृतस्तरमै सहज पहुँच पाउने अवस्था बन्दैछ । अहिले पनि अधिकृत तहमा सहभागिता रहे पनि पर्यवेक्षक तहमा पोस्टिङको अवसर जुटेको छैन । स्टाफ कलेज गरेका महिला अधिकृत नहुँदा यो अवस्था आएको ती अधिकारीले जनाए ।

नेपालले कुल सैनिक संख्याको १० प्रतिशतसम्म शान्ति मिसनमा पठाउन सक्ने जानकारी राष्ट्रसंघले औपचारिक रूपमै गराइसकेको छ । यो अनुपातमा खटाइए अहिलेको तुलनामा दोब्बरभन्दा बढी हुन्छ । अहिले ४ हजार ८ सय २९ सैनिक शान्तिसेनामा खटाइएका छन् । राष्ट्रसंघले १० हजारसम्म पुर्‍याउन सकिने धारणा औपचारिक रूपमै सार्वजनिक गरेको थियो ।

शान्तिसेनामा अहिलेसम्म १ हजार ९४ महिला सैनिकले सहभागिता जनाइसकेका छन् । अहिले १ सय २९ जनाको सहभागिता छ । अधिकृत तहका भने एक दर्जन पनि सहभागी छैनन् ।

एक दर्जन मुलुकमा विभिन्न २३ मिसनअन्तर्गत नेपाली सैनिक खटिएका छन् । सन् १९५८ देखि हालसम्म ४२ मुलुकका मिसनमा १ लाख २० हजार २ सय ७ नेपाली सैनिकले काम गरिसकेका छन् । यस क्रममा ६३ जनाले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा अंगभंग भएको तथ्यांक छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुल संख्याको १० प्रतिशत विश्व शान्ति मिसनमा पठाउन सकिने अवस्थामा राष्ट्रसंघमा महिलाले थप अवसर पाउने जानकारी दिएका छन् । उनले त्यसका लागि महिला सैनिकको वृत्ति विकासमा सेनाले ध्यान दिइरहेको पनि स्पष्ट पारे ।

‘सरकारबाट १० प्रतिशतसम्म शान्तिसेनामा पठाउन सकिने स्वीकृति प्राप्त भएपछि प्रक्रिया अघि बढाइएको छ,’ एक सैन्य अधिकारीले भने, ‘मध्यअफ्रिकामा नेपाली सेनाको माग भइसकेको छ, छिट्टै पठाउने तयारी छ ।’ आजको कान्तिपुरमा खवर छ।

प्रतिक्रिया दिनुहोस
Advertisement