नेपाली सामानको निर्यातमा भारतद्धारा अवरोध, सामान नरोकिएको भारतिय दूतावासको दावी


काठमाडौं– भारत र नेपालबीच सीमा विवाद जारी रहेको बेला नेपाली बस्तुको निर्यातमा भारतले अवरोध गरेको छ । भारतिय क्याविनेटमा नेपालसंगको व्यापारबारे छलफल भएको समाचार सार्वजनिक भइरहेको बेला भारतले अघोषित रुपमा नेपाली वस्तु निर्यातमा बन्देज लगाउन थालेको हो ।

नेपालले पाम आयल, चिया र अलैंचीलगायतका वस्तु सवैभन्दा बढी निर्यात गर्दै आएको छ । नेपालले निर्यात गर्ने वस्तुलाई लक्षित गरेर भारतले नाकामा अवरोध गरेको गुनासो व्यवसायीहरुले गरिरहेका छन् ।

भारतले  पूर्वका नाकामा नेपाली वस्तु निर्यातमा अवरोध गरिरहेको छ। दुई पक्षिय सहमतीविपरीत भारतले अवरोध गरेपछि कृषिजन्य सामाग्री बोकेका कैर्यौं गाडी मेची भन्सारमा रोकिएका छन् । कृषिजन्य सामान बोकेर गएका ट्रकहरु रोकिएपछि सरकारले अवरोधबारे भारत सरकारको ध्यानआकर्षण गरेपनि अवस्था भने सहज हुन सकेको छैन् । कोरोनाको महामारीको कारण देखाएर भारतको पश्चिम बंगाल राज्य सरकारले सामान आयात रोकेको बताइएको छ ।

लकडाउनपछि पनि भारतले नेपाली वस्तु निर्यातमा समस्या खडा गर्न थालेपछि नेपालले परराष्ट्रमन्त्रालयमार्फत तीन पटक पत्र पठाइसकेको छ । यता, दुवै देशका वाणिज्य मन्त्रालयका सहसचिव स्तरमा समेत दैनिक छलफल भएपनि भारतले अवरोध जारी नै राखेको छ ।

यसअघि भारतले पाम आयल भारत निर्यातमा अवरोध गर्नुका साथै नेपालको चिया निर्यातमा पनि अवरोध गर्दै आएको थियो ।  भन्सार विभागका निर्देशक शिशिर घिमिरेले पश्चिम बंगाल सरकारले मेची नाकामा अवरोध गरेको भएपनि अन्य नाकाबाट हुने निर्यातमा समस्या नरहेको जानकारी दिए।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट बार्षिक रुपमा ३ अर्बको अलैची, साढे ३ अर्बको चियां र ५१ करोडको अदुवा निकासी हुंदै आएको छ । मेची भन्सारमा अवरोध भएपछि व्यापारीहरुले दुई सय किलोमिटर टाढा रहेको जोगवनी नाकाबाट निर्यात गर्न थालेका छन् ।

नेपाली सामानको निर्यात रोकेकोबारे काठमाडौंस्थित भारतिय दूतावासका प्रवक्ता अभिषेक दुवेलाई प्रश्न गर्दा उनले नेपाली वस्तुको निर्यातमा कुनै अवरोध नभएको दावी गरे ।दुवेले मेचीतर्फको हकमा पनि कुनै समस्या नरहेको बताए ।

‘कोरोना महामहारीका कारण भारतमा प्रदेश सरकारहरुले आन्तरिक रुपमा केही नीति बनाएका छन्, तर भारतको कुनै पनि नेपाली सामान रोक्ने निती छैन् । यो अफवाह मात्र हो ।’ प्रवक्ता दुवेले भने । उनले दुवै देशका वाणिज्य मन्त्रालयका अधिकारीहरु आपसमा सम्र्पकमा रहेको र समस्या आएको खण्डमा समाधान गर्नसक्ने बताए ।

भारतले नेपाली सामानको निर्यातमा रोक लगाएपनि भारतबाट पनि सामान आयात रोकिएको छैन् । मेची नाकाबाट भारतिय सामान दैनिकजसो भित्रिन छाडेको छैन् ।

‘सरकारले पटक पटक आग्रह गर्दा पनि सहज नहुनु भनेको उनिहरुको केन्द्र सरकारको निति नै हो जस्तो लाग्छ , नक्सा सार्वजनिक गरेसंगै नाकामा भारतिय कर्मचारीहरुले विभिन्न बहाना बनाएको गुनासो आएको छ । हामी अवरोध हटाउन पहल गरिरहेको छौं ।’ वाणिज्यमन्त्रालयका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement