पुराना हेलिकप्टर बेच्दै, नयाँ किन्दै सेना


काठमाडौ‌- नेपाली सेनाले लिलामीमा राखेका फ्रेन्च कम्पनीको दुई पुराना हेलिकप्टर चिनियाँ आकाशमा उड्ने भएका छन्। हेलिकप्टर तालिम दिने एक चिनियाँ कम्पनीले ती दुई हेलिकप्टरको लिलामी सकारेको हो।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी आगामी साता चार दिन लगाएर नेपाली सेनाका पाइलटसहित उक्त हेलिकप्टर दक्षिणी चीन पुर्‍याइदिने छन्। हाल एयरबस हेलिकप्टरले त्यस्ता हवाई साधन निर्माण गर्छ। सेनाले भने युरो हेलिकप्टर कम्पनी हुँदै ती हेलिकप्टर खरिद गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सेनाले हेलिकप्टर बेच्ने सबै कागजी प्रक्रिया सकिएको जनाएको छ। कम्पनीले बैनाबापत १० प्रतिशत रकम ९३ करोड २७ लाख० बुझाइसकेको छ। सेनाको हवाई निर्देशनालयले दुई थान ‘सुपर पुमा’ र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोल–कबोल मूल्य तय गरेको हो। बाँकी रकम आउनेबित्तिकै सेनाले ती हेलिकप्टर कम्पनीलाई हस्तान्तरण गर्नेछ।

निर्देशनालयका अनुसार हाल ती हेलिकप्टर मर्मत कार्य भइरहेको छ। यसअघि सेनाले बेचेको पुरानो ‘पुमा’ हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने निश्चित भइसकेको छ। त्यो हेलिकप्टर अझै अफ्रिका लाने प्रक्रियामै छ। नेपाली सेनाले त्यसको पूर्ण रकम पाइसकेको छ। एजेन्टमार्फत बिक्री गरिएको पुमा हेलिकप्टर दुई महिनाअघि नै अफ्रिका पुग्ने भनिए पनि अझै केही समय लाग्ने भएको छ।

सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको एक वर्ष्भित्र ३ हेलिकप्टर र एक विमान बिक्री भएको हो। एभ्रो विमान लिलामीबारे भने अझै निर्णय भइसकेको छैन। निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो।

धेरै रकम आउने दुई सुपर पुमा र एक पुमा हेलिकप्टर बिक्री भएको हो। अरूको मूल्यांकन निकै न्यून छ। एभ्रो विमानको १० प्रतिशत बैना जम्मा भएको र अन्य रकमबारे छलफल भइरहेको सैनिक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement