बसुन्धाराको अक्सिजन र आइसोलन केन्द्रको जिम्मेवारी नेपाली सेनालाई


काठमाण्डु – नेपाली सेनाले आइसोलन तथा अक्सिजन थेरापी सेन्टर संचालनमा ल्याएको छ । महानगरपालिकाको आर्थिक सहयोगमा काठमाण्डुको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को आज उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरेका छन् ।

तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्न सकिने यस आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाण्डु महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । शुभारम्भ कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए ।

उनले भने, ‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं ।’

उनले चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याइने बताए । बिभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनको भनाइ छ ।

आइसोलेशन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement