नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्गको प्रस्थान विन्दु खोकना नै रोज्यो


काठमाडौं – शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा नेपाली सेनाले काठमाडौं- तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको बताएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खााडले फर्सीडोलमा प्रवेश विन्दू बनाउँदा मध्य सहर तथा चक्रपथसँग जोडिने लिंक रोड निर्माण गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने र स्थायी भौतिक संरचनाको समेत क्षति व्यहोर्नुपर्ने बताए ।

फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा फास्ट ट्र्याकको सारभूत पक्ष नै खण्डित हुने गरी प्रवेश विन्दुबाट मध्यशहरसम्म आउन बढी समय लाग्ने सेनाले बताएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह पनि खोकनाबाट नजिक पर्ने भन्दै सेनाले फर्सीडोलमा प्रस्थान विन्दू बनाउँदा थप कनेक्टिभिटीको निर्माण कार्य गर्नु पर्ने र ढुवानीसमेत खर्चिलो हुने बताएको छ ।

आयोजना अन्तर्गत पर्ने द्रुत मार्गको खोकनादेखि बुंगमतिसम्मको ५ दशमलब ७ किलोमिटर खण्डमा प्रस्थान विन्दुका विषयमा विवाद देखिएपछि सेनाले समितिमा प्रष्टीकरण दिएको हो । खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा समेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुने खाँडले बताए ।

तर, फर्सिडोलमा पुरै प्रक्रिया फेरि सुरु गर्दा जग्गा र संरचनाको मुआब्जा धेरै दिनुपर्ने सेनाको भनाइ छ । खोकना प्रस्थान विन्दु हुँदा पूर्व स्वीकृत रेखाकंन बमोजिम निर्माण गर्न सकिने तर, फर्सिडोललाई बनाउँदा नयाँ रेखांकन स्वीकृत गर्नुपर्ने सेनाले प्रष्टिकरण दिएको छ ।

नेपाली सेनाले अहिलेकै अवस्थामा फास्ट ट्रयाक निर्माणको वातावरण बनाइदिन राजनीतिक तथा प्रशासनिक तहका उच्च नेतृत्वलाई आग्रह गरेको छ । ‘उपरोक्त तथ्यहरुबाट ललितपुरका पूर्वउल्लेखित इलाकामा हालसम्म भए गरेका द्रुतमार्ग निर्माणसम्बन्धी क्रियाकलापहरु नियमसंगत तथा कार्यप्रगति सन्तोषजनक रहेको देखिन्छ । त्यसकारण जिरो किमी खोकनादेखि ५.७ किमी खोकना बुङ्मतीको सिमानासम्म सडक निर्माण कार्य गर्न उच्च स्तरीय राजनीतिक तथा प्रशासनिक तहबाट सहमतिको लागि थप पहल गर्नु अत्यावश्यक देखिन्छ’ सेनाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement