प्रधानसेनापतिले सुरू गरे सेनाभित्र शुद्धीकरण अभियान


काठमाडौ – प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाभित्र विगतमा हुने गरेका अनेकौं प्रकारका अनियमिततालाई जरैदेखि उखेल्ने गरी शुद्धीकरण अभियान सुरु भइसकेको दाबी गरेका छन् ।

शुद्धीकरणको अभियान भर्ना छनौट प्रक्रियाबाट सुरु भएको उनको भनाइ थियो। थापाले नेपाली सेनाको कमाण्ड सम्मालेको १०० दिन पुगेको अवसरमा सैनिक मुख्यालयमा सोमबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले अनधिकृत काज र संगठनलाई नै संकटमा पार्ने गरी भएका सरुवा र नियुक्तिहरुलाई नियमन गर्दै लगिएको उनको दाबी थियो ।

शान्ति सेना छनौट प्रक्रियामा विगतमा भएका विकृतिलाई हटाउने कार्य सुरु गरिएको उनले बताए । सेना सम्बन्धी भवन निर्माणका कामलाईसमेत सैनिक मुख्यालयले पारदर्शी बनाएको छ । मुख्यालयले भवन निर्माणको जिम्मा स्थानीय कमाण्डरलाइ दिने निर्णय गरेको छ ।

प्रधानसेनापति थापाले दसैँअघि सैनिक मुख्यालयमा पत्रकारहरूसँगको संवाद कार्यक्रममा विखण्डनकारी, राष्ट्रद्रोही र उग्रवादीहरूलाई सेनाले कठोरतापूर्वक कारबाही गर्ने सन्देश दिए । त्यति मात्र होइन, नेपाली सेनाभित्र भ्रष्टाचार रहेको स्वीकार गर्दै थापाले त्यस्ता भ्रष्टाचारको जरो समेतमा मनोवैज्ञानिक कोर्रा हान्ने संकेत गरेका थिए । झण्डै दुई सय जना सैनिकलाई सैनिक अदालतमा उभ्याउने प्रक्रिया सुरु भएपछि प्रधानसेनापति थापाको कथन केवल गफ वा प्रवचन होइन रहेछ भन्ने सन्देश प्रवाह भएको छ ।

नेपाली सेनाभित्र भ्रष्टाचार, अनुशासनहीनता र बेथिति बढ्दै जाँदा ४५९ वर्ष पुरानो इतिहास भएको सैनिक संगठन क्षतविक्षत हुन सक्छ भनेर प्रधानसेनापतिले शुद्धीकरण अभियान सुरु गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement