सिनेमाहल खुले, दर्शकको उपस्थिति न्यून


काठमाण्डु – दशैँको घटस्थापना अर्थात आजदेखि देशभरका सिनेमाहलहरू पुनः सञ्चालनमा आएका छन्। हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ को प्रदर्शनसँगै कोरोनाको सङ्क्रमण जोखिमका कारण ठप्प रहेका सिनेमाहलका पर्दा चलायमान भएका हुन्।

दर्शकको उपस्थिति न्यून रहेको अवस्थामा फिल्म निर्माता एवं प्रदर्शकहरूलाई विभिन्न राहत तथा सहुलियत प्रदान गरी हल सञ्चालनमा ल्याएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् । उनले भने,”निर्माताहरूलाई प्रोत्साहित गर्नका लागि विभिन्न राहत प्याकेज अघि सारेका हौँ । अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान गर्न हल सञ्चालनमा ल्याउनुको विकल्प छैन ।”

विकास बोर्डले पुस मसान्तसम्ममा प्रदर्शन मिति तय गर्ने चलचित्रको इन्कोडिङ खर्च, भीपीसी शुल्क र प्रचार छपाइ व्यहोर्ने भएको छ । दाहालका अनुसार उक्त चलचित्रहरूले १२ वटा राष्ट्रिय टेलिभिजनहरूमा ५० प्रतिशत छुटमा प्रचार सामग्री प्रसारण गर्ने सुविधा बोर्डले उपलब्ध गराएको छ ।

प्रदर्शनका लागि किन अघि सरेनन् नेपाली चलचित्र ?
चलचित्र विकास बोर्डले मङ्गलवार चलचित्रकर्मीलाई राहतसँगै चलचित्रहरूको प्रदर्शन मिति घोषणा गर्ने कार्यक्रम राखेको थियो । तर, त्यस दिन कुनै पनि चलचित्रको प्रदर्शन घोषणा हुन सकेन ।

हरेक वर्ष दशैँको फूलपातीका दिन नेपाली चलचित्र प्रदर्शनका लागि हानथाप हुन्थ्यो । तर, यस पटक विकास बोर्डले राहत उपलब्ध गराउँदा समेत चलचित्रहरू प्रदर्शनका लागि तयार भएनन्।

‘प्रेम गीत ३’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘माइकल अधिकारी’जस्ता ठुलो बजेटका चलचित्र बनिसकेका छन् । तर, तीमध्ये कुनै पनि चलचित्रको प्रदर्शन मिति तय भएको छैन । ‘डाँडाको वरपीपल’ प्रदर्शनको तयारीमा रहेको एक मात्र नेपाली चलचित्र हो । “शत प्रतिशत जोखिम मोलेर आफ्नो फिल्म प्रदर्शनका लागि अघि सारेको हुँ । कुनै पनि निर्माता त्यो जोखिम उठाउन तयार नभए सिनेमा क्षेत्र कहिले खुल्ने ?,” फिल्मका निर्देशक शोभित बस्नेतले भने,’आफूलाई पर्ने घाटाको हिसाब नगरी फिल्म क्षेत्रलाई चलायमान बनाउने पहल गरेको हुँ ।”

प्रतिक्रिया दिनुहोस
Advertisement