जोखिमपूर्ण यात्रामा रहेका १९ जना नेपाली महिलाको नेपालगञ्ज नाकाबाट उद्धार


नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका १९ जना नेपनली महिलालाई फिर्ता गराइएको छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक जान थालेका १९ जना नेपाली महिलालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको हो ।

नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिए । उनका अनुसार शुक्रबार राति १० र शनिबार राति नौ जना गरी १९ महिलालाई फिर्ता गरिएको हो ।

“दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ”, इञ्चार्ज बस्नेतले भने, “कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ ।” नाकाबाट उद्धार गरिएका सबै महिलालाई माइती नेपाल, नेपालगञ्जमा राखिएको छ ।

१९ देखि ४८ वर्ष उमेरका महिलाहरु पूर्वका बढी छन् । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, मोरङ, सुनसरी, काभ्रे, सर्लाही, गुल्मी, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक, उदयपुर, रोल्पा र झापाका महिलाहरु हुन्। नाकाबाट उद्धार गरिएका १९ जनामध्ये केही महिलाले मात्रै बैदेशिक रोजगारमा जान थालेको स्वीकार गरेका छन्। केहीले भारत घुम्न जान थालेको दावी गरेका छन् ।

उनीहरुका साथमा कुनै कागजपत्र छैन । दलालले दिल्ली जाने बसमा बसाएर उतै भेट्ने बताइ सबै कागजपत्र लगेको केहीले खोलेका छन्।भारतको महिला आयोग, प्रहरीसँग मिलेर माइती नेपालले केही दिनअघि मणिपुरबाट एक सय ७९ जना महिलाको उद्धार गरेको थियो। यी महिलालाई पनि मणिपुर हुँदै किर्गिस्तान र इराक लैजान थालेको कोइरालाले आशंका गरे।

उद्धार गरिएका महिलालाई काउन्सिलिङ गर्दै परिवारको जिम्मा लगाउने काम भइरहेको छ। ‘केही महिलालाई पारिवारिक मिलन गराइसक्यौ, केहीको अभिभावक आउँदै छन्, कोइरालाले भने, जोखिमपूर्ण यात्रामा जादा दुःख पाइन्छ, बेचिने संभावना हुन्छ भनेर सम्झाएका छौं।’

प्रतिक्रिया दिनुहोस
Advertisement