ओलीले ‘सरी’ भनेपछि पग्लिए प्रचण्ड, एमाले र नेकपा एकता उन्मुख

ओलीले ‘सरी’ भनेपछि पग्लिए प्रचण्ड, एमाले र नेकपा एकता उन्मुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे छलफल भएको छ ।

ओली भेट्न प्रचण्ड केही दिनअघि उनी उपचाररत महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका थिए । ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पताल गएको भनिए पनि उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरेका थिए ।

जेनजी आन्दोलनका प्रदर्शनकारी मारिएको घटनामा गत १४ चैतमा ज्यानसम्बन्धी मुद्धामा पक्राउ परेका ओली सोही दिन शिक्षण अस्पताल भर्ना भएका थिए ।

पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि २३ चैतमा सुनुवाई गर्दै सर्वोच्च अदालतले २६ चैतपछि मुद्दा दर्ता गर्न वा रिहा गर्न विपक्षीका नाममा आदेश गरेको थियो । उक्त आदेशपछि २६ चैतमा रिहा भएका ओलीको गत सोमबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

केही दिनयता ओलीले अस्पतालबाटै राजनीतिक सक्रियता बढाएका छन् । प्रचण्डअघि ओलीलाई नेकपाका नेता नारायणकाजी श्रेष्ठले भेटेका थिए । श्रेष्ठमार्फत ओलीले प्रचण्डलाई भेट्न चाहेको खबर पठाएका थिए । प्रचण्ड र ओलीबीच पार्टी एकता गरेर अघि बढ्नेबारे सैद्धान्तिक सहमति भएको एमालेका एक नेताले बताए ।

‘मुलुकको अवस्था, चुनावको नतिजा र जनमत बलियो हुँदाहुँदै पनि एकताबद्ध हुन नसक्दा हालैको निर्वाचन परिणामपछि कम्युनिष्ट आन्दोलनले व्यहोरोको धक्का आदिका कारण मिल्नैपर्ने बाध्यात्मक अवस्था आएकामा दुवै नेताको समान धारणा छ’, उनले भने, ‘सहकार्य र छलफल गर्दै एकतामा जानुपर्नेबारे सैद्धान्तिक सहमतिजस्तै भएको छ ।’

नेकपाका एक पदाधिकारीका अनुसार ओलीले विगतमा गरिएको एकता टिकाउन नसक्नुमा आफ्नो कमजोरी रहन गएको स्वीकार गरेका थिए । ०७४ को निर्वाचनमा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याएका दुई पार्टीबीच एकता भएर बनेको नेकपा विभाजित भएको थियो । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री ओलीले दुईपटकसम्म संसद् विघटन गरेका थिए । सोही पृष्ठभूमिमा नेकपा विभाजन भएको थियो ।

‘पार्टी एकता जोगाउन नसक्नुमा मेरो गल्ती थियो भन्ने महसुस भएको छ’, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अब विगतका गल्ती नदोहोरिने गरी हामी मिलौं ।’ जवाफमा प्रचण्डले पहिला स्वास्थ्य लाभ गरेर अस्पतालबाट डिस्चार्ज हुन भनेका थिए ।

‘पहिला तपाईं ठीक भएर अस्पतालबाट निस्कनुस्, अनि कुरा गरौंला’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले काठमाण्डुपार्टीसँग भने । यद्यपि एमाले र नेकपा दुवैतर्फका नेता कार्यकर्ताको ठूलो पंक्ति तत्काल एकता गर्न नहुने पक्षमा छ ।