काठमाण्डु – सर्वोच्च अदालतले पार्टीको आधिकारिता सम्बन्धी दायर रिट खारेज गरेपछि नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा जुटेका छन् ।
गोल्फुटारस्थित निवासमा नेता खड्का आन्तरिक छलफलमा जुटेका छन् । खड्का निवासमा छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका छन् ।
यस्तै निवर्तमान केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरू छलफलका लागि पुगेका छन् ।
नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे छलफल गर्न लागेका हुन् ।
नेता खड्काले पार्टीका शीर्ष नेताहरूसँग पनि अनौपचारिक छलफलको तयारी गरेका छन् । खड्काले शनिबार नै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
शनिबार दिउँसो साढे ३ बजे निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको खड्काको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया