काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित कारोबार स्थगित गरेको छ।
७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि आजको नियमित कारोबार स्थगित गरिएकाे हाे ।
समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।
यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार सत्र स्थगित गर्न निवेदन दिएको थियो।
सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१०)बमोजिम २०८३ असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो।
नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।




प्रतिक्रिया