एनसीपी नेता सिद्दिकीको गोली हानी हत्या, दुई जना पक्राउ

एनसीपी नेता सिद्दिकीको गोली हानी हत्या, दुई जना पक्राउ


मुम्बई– भारतमा एनसीपी (अजित पवार गुट)का नेताको गोली हानी हत्या भएको छ ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा नेता बाबा सिद्दिकीमाथि गोली हानिएको हो ।

कैयौं राउण्ड गोली लागेर गम्भीर भएका उनलाई लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपीमा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्राउ पर्नेछन् । एक आरोपी हरियाणा र एक उत्तर प्रदेशका हुन्।’