भियतनामसँग महत्वपूर्ण विषयमा सम्झौता र एमओयू हुने


काठमाडौं— नेपाल र भियतनामबीच केही महत्वपूर्ण विषयमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर (एमओयू) हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणको क्रममा सम्झौता हुन लागेको हो। भितनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रम ओली क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ भ्रमण गर्दैछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नेछन्।

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन्। दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।

त्यस्तै कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्नेछन्। प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement