समाचार प्रभाव : भन्सारले अखाद्य भारतीय खाने तेल फिर्ता पठायो


 उदय सिंह श्रेष्ठ
नेपालगन्ज — भारतमा मिलावट तथा स्वास्थ्यको लागि हानिकारक खाने तेल आयात भइरहेकोले प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सक्रियतामा नेपालगन्ज भन्सार कार्यालयले त्यस्ता अखाद्य तेल भारततर्फ नै फिर्ता पठाएको छ ।

नेपालगन्जको भारततर्फको बोर्डर रुपैडिहा बजारमा खुलेआम बिक्री वितरण हुने अखाद्य खाने तेलको विषयमा अनुसन्धान गर्दा रुपैडिहास्थित अधिकांश सरकारी कर्मचारी र शिक्षित बासिन्दाहरुले नेपालको खाने तेल नै प्रयोग गर्ने गरेको तथा भारतीय तेलमा मिलावट अत्यधिक हुने भएको भन्ने अभिव्यक्ति मिडियामार्फत सार्वजनिक भएपछि स्थानिय प्रहरी प्रशासन लगायत सरोकारवाला निकाय अहिले सक्रिय रुपमा त्यस्ता खाने तेललाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

यसैगरी प्रजिअ भुजेल लगायत नेपाल प्रहरीका एसपी अरुण पौडेल र सशस्त्र प्रहरी एसपी भेष बहादुर शाह सहित भन्सार कार्यालयमा भन्सार प्रमुख शान्ति राम निरौला र राजस्व गुल्मका डिएसपी निरान्कार नाथ शुक्लाको संयुक्त छलफलमा अखाद्य खाने तेल पूर्ण रुपमा प्रतिबन्धित लगाउने निर्णय अनुसार आजबाट त्यस्ता अखाद्य खाने तेल पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

भारतमा उत्पादन भएका त्यस्ता अखाद्य खाने तेल फिर्ता पठाउनको लागि डिएसपी शुक्ला अबेर रातीसम्म चेकजाँचमा खटिनुको साथै आफ्नो मातहतका कर्मचारीलाई अखाद्य खाने तेलको विषयमा फुटकर आयातकर्तालाई सम्झाई फिर्ता पठाउने र २–४ दिनपछि पनि त्यस्ता अखाद्य खाने तेल आयो भने जफत गरी तत्काल नष्ट गर्ने छलफलमा निर्णय भएको बताइएको छ ।

यसैगरी भन्सार छलेर तथा म्याद नाघेका खानेकुराको विषयमा प्रजिअ भुजेलको निर्देशनमा आज देखि बजार अनुगमनलाई कडाईका साथ अगाडि बढाइएको छ । आजको अनुगमनमा २ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना र नसियत समेत दिइएको बताइएको छ ।

बजारमा खरिद बिल नराखी सामान बिक्री गर्ने विषयमा भोलिबाट नेपालगन्ज भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयले छुट्टाछुट्टै कडाईका साथ अनुगमन गर्ने तथा त्यस्तो केही भेटिएको खण्डमा कडा कारवाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement