कोभिडका कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह स्थगित


एजेन्सी – न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित भएको छ । प्छिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गरेकी हुन् ।

‘कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ,’ उनले भनेकी छन् । सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ ।

आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको उनले बताएकी छिन् । ‘महामारीका कारण म पनि अन्य नागरिक जस्तै प्रभावित बनेकी छु,’, प्रधानमन्त्रीले भनिन् ।

आर्डेन र उनका लामो समयदेखिका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीय आर्डेन र उनका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् । केही सातापछि उनीहरुको विवाह गर्ने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

न्युजिल्यान्डमा अहिलेसम्म १५ हजार १०४ जनामा कोभिड देखिएको छ । महामारी सुरु भएपछि अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement