एनआईसी एसिया र इन्फ्रासफ्टबीच सम्झौता


काठमाडौं – एनआईसी एसिया बैंकले नेपालको एम्निल टेक्नोलोजी र भारतको इन्फ्रासफ्ट टेक्नोलोजीसँग सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजीको वितरणतर्फका उपाध्यक्ष अमीत शर्मा र एम्निल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमीत जोशीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड–टु–इन्ड एएमएल सोलुसन उपलब्ध गराउने छ । यो प्रविधिको कार्यान्वयनपश्चात् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायले तोकेको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले जनाएको छ । यसले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरूले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको जनाएको छ ।

नवीनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अवलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ शाखाबाट डिजिटल प्रविधिमार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement