बाल्यकालको इच्छाले बनायो चित्रकार, स्केचमा ‘भविष्य’ खोज्दै निरज


यशोदा भुजेल/काठमाण्डु – हामीले सानो छँदा पेन्सिल खेलाएर विभिन्न चित्रहरु कोर्ने गर्दथ्यौं । त्यो बेला कोरेका चित्रहरु विग्रँदा पनि रमाइलो लाग्ने गर्दथ्यो । त्यही बालापनको सिकाई कसैको पेशा हुन्छ भन्ने सोच धेरै कम मानिसमा हुन्छ । तर यसको उदाहरण बनेका छन् चित्रकार निरज कुँईकेल ।

झापा जिल्लामा जन्मिएका निरज सानैदेखि चित्र कोर्नमा मन पराउँथे । उनले बाल्यकालको आफ्नो इच्छालाई पेशामा परिणत गरेका छन् । सानैदेखि विभिन्न भगवान, पैसा आदिको चित्र कोर्ने गरेका निरजले कक्षा १० पुगेपछि चित्र कोर्नमा केही समयका लागि ‘ब्रेक’ लगाए ।

‘पढाइलाई निरन्तरता दिने सोचले चार वर्ष चित्र कोराइलाई स्थगित गरेँ’, उनले भने, ‘लगाव र रुची चित्रकलामा भएकाले नै यो पेशा अँगालेँ ।’ स्केचलाई सामाजिक सञ्जालले पेशा बनाउन सहयोग गरेको उनी बताउँछन् । उनले स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुको फोटो सामाजिक सञ्जालमार्फत लिएर चित्र बनाउने गरेका छन् । यसरी बनाएको चित्रबाट लिएको रकमले उनलाई आवश्यक सामग्रीहरु जुटाउन सहज हुनुका साथै पढाई खर्चमा समेत सघाउ पुग्ने गरेको छ ।

उनी भन्छन्, ‘मैले आफूले जानेको कलाबाट घरमै बसीबसी राम्रो आम्दानी लिइरहेको छु भने विदेश किन जानु ?’ अहिले उनलाई स्केच गर्न भ्याइ नभ्याइ भएको छ । काठमाण्डु, बुटवल, दाङलगायत जापान, अमेरिका, क्यानाडाबाट समेत उनको स्केचको माग भईरहेको निरजले बताए ।

कुइँकेलले विभिन्न कलाकाल तथा प्रख्यात व्यक्तिहरुको चित्र बनाएर बेला–बेलामा सामाजिक सञ्जाल मार्फत प्रस्तुतसमेत गर्ने गरेका छन् । सामाजिक सञ्जालमा पनि उनी आजभोलि निक्कैपरिचित बनेका छन् ।

उनी आफ्नो कलालाई भगवानको वरदान नै ठान्छन् । किनकि आजसम्म न त कहिले चित्र बनाउन सिक्नका लागि कक्षा नै गएका छन् न त कुनै गुरुले नै सिकाएका हुन् । निरजले आफ्नो कलाको प्रेरणाको स्रोत आफ्ना बुबालाई मान्ने गरेका छन् । उनले आफ्नो गुरु बुबालाई नै ठानेका छन् । उनका बाबु पेन्टर थिए ।

उनी भन्छन्, ‘बाल्यकाल दुखिनै चित्र बनाउने रुची भएकाले होला मलाई कुनै स्कूलको आवश्यकता परेन । घरमै बसेर गरेको मेहनतले नै अहिले चित्रकारको रुपमा चिनिएको छु ।’ उनी आफूलाई सानै उमेरमा एक चित्रकारको रुपमा सबैले चिन्ने गरेकोमा गर्व महसुस गर्छन् ।

स्केचबाट करियर बनाउन सक्ने सम्भावना धेरै रहेको निरज बताउँछन् । ‘चित्रकलामै लागि परेर यसलाई नै निरन्तरता दिने हो भने यसमै भविष्य उज्वल बनाउँन सकिन्छ,’ उनले भने, ‘स्केचलाई व्यवसायिक बनाएर घर परिवार मज्जाले चलाउन सकिन्छ भन्ने कुरामा म ढुक्क छु ।’

स्केचको मूल्य सबै आर्टिष्टको फरक फरक हुने उनले बताए । ‘चित्र सबैलाई मन पर्छ तर आर्थिक कारणले गर्दा पनि यसको उचित मूल्य सबैले दिन सक्दैनन् । तर नेपाली समाजमा यो चित्रलाई यतिमा बेच्छु भन्ने सोच बनाएर चाहीँ कसैले चित्र बनाउँदैन । यसरी बनाएको स्केचको महत्व कम हुन्छ ।’

एउटा चित्र बनाउन ४ घण्टादेखि २०, २२ घण्टासम्म लाग्ने उनी बताउँछन् । ‘समय चित्रको आकार हेरेर हुन्छ । सामान्य चित्र ४,५ घण्टामा तयार हुन्छ । मैले एउटा चित्रको मूल्य २५ सय देखि सुरु गरेर ४ हजारसम्म लिएको छु,’ उनले भने । उनले स्केचसँगै फोटो फ्रेम र नेपालभरी डेलिभरीको व्यवस्था समेत गरेका छन् ।

चित्रकलामा रुची भएका निरजलाई घरपरिवारको सपोर्ट पनि धेरै छ । उनी भन्छन्, ‘परिवार र साथीभाईको सपोर्टले नै यो पेशालाई अंगालेको हो । त्यसैले भविष्यमा पनि चित्रकलालाई नै पेशा बनाएर जाने योजना बनाएको छु । पूर्वमा आर्ट ग्यलरी कम छ, त्यसैले अबको योजना भनेको आर्ट ग्यालरी सञ्चालन गरेर आफ्नो भविष्य उज्वल बनाउने हो ।’

सबैभन्दा बढी मानिसको चित्र बनाउने निरजले दुई वर्षको समयमा ७०० भन्दा बढी स्केच तयार पारिसकेका छन् । उनले फुर्सदका बेला समय सान्दर्भिक तथा अन्य चित्रहरुको साथमा ‘थ्रि डी’ आर्ट पनि गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement