निर्मला हत्याकाण्ड : पक्राउ परेका बम दिदीबहिनीको ‘पोलिग्राफ टेस्ट’ को तयारी


काठमाडौं– कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको नयाँ कोणबाट अनुसन्धान थालिएको छ।
उक्त घटना रहस्यमय बन्दै गएका बेला हालै मात्र कञ्चनपुर सरुवा भएका डिएसपी कृष्णराज ओझालार्इ अनुसन्धान अधिकृत ताेकिसकिएकाे छ।

धनगढीस्थित गणबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा भएका डिएसपी ओझा नेतृत्वको अनुसन्धान टोलीले निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

कञ्चनपुरका एसपी कुबेर कठायतका अनुसार पक्राउ परेका दुबै जनालाई सोमबार अदालतमा उपस्थित गराइने छ। उनीहरुमाथि पोलिग्राफ टेस्ट गराउने समेत तयारी प्रहरीको छ।

साथी रोशनीको घर गएकी निर्मलाको शव अर्काे दिन मात्र उखु बारीमा भेटिएको थियो। बमदिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने स्थानीयको मागको सुनावाइ नभएका बेला सरकारले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई सरुवा गरेर निलम्बन गरिसकेको छ।

एक महिना अघि भएको उक्त घटनाको यसअघि प्रहरी निरीक्षक एकेन्द्र खड्का अनुसन्धान अधिकृत थिए। उनी अनुसन्धान अधिकृत छँदा दिलिपसिंह विष्टलाई दोषी करार गरिएको थियो।

तर, मानसिक सन्तुलन गुमाएका भनिएका विष्टलाई दोषी करार गरेर घटनाका दोषीलाई उम्काउन खोजिएको भन्दै आन्दोलन चर्किएपछि सरकारले कञ्चनप’रका तत्कालीन एसपी दिल्लीराज विष्टलाई केन्द्रमा तानेर निलम्बन गरिसकेको छ।

डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक खड्कालाई पनि केन्द्रमा तानेर उनीहरुमाथि नै थप अनुसन्धान अघि बढाइएको छ।  घटनाकाे अनुसन्धानका लागि यसअघि सीअार्इबीकाे टाेली पनि पुगेकाे थियाे। तर, अहिले उक्त टाेली काठमाडाैं फिर्ता भइसकेकाे छ।

घटनाको अनुसन्धान प्रहरीले गरिरहेपनि विस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पनि छानबिन गरिरहेको छ।

दुई दिनअघि छानविनका लागि महेन्द्रनगर आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ ।

उक्त घटनाको विरोधमा महेन्द्रनगरमा चर्काे आन्दोलन भएको थियो। प्रदर्शनको क्रमा शुक्रबार प्रहरीको गोली लागेर सनी खुनाका मृत्यु भएको थियो।

शनिबारको मन्त्रिपरिषद्को बैठकले उनलाई शहीद घोषणा गरिसकेको छ, भने उनीसहित निर्मलाका परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरिसकेको छ।

पीडित परिवारसँग आइतबार नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लेखराज भट्ट नेतृत्वको एक टोलीले भेट गरिसकेको छ।

कर्फ्यूकाे तालिका फेरियाे

कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यू खुलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यूको समय तालिकामा फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए ।

विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । यहाँ शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कर्फ्यू लगाउन थालिएको हो ।

भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइँदै आएको छ । भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच घण्टा कर्फ्यू हटाइएको थियो । सोमबारसम्म तोकिएको समयसीमा बाहेकको समय भने कर्फयु यथावत् रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement