काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फयु हटाउन र सडक खोल्न मात्र नभएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुनसरी घटनाको सन्दर्भ निकाल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु र न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु भएको बताएका छन् ।
कांग्रेसका सचेतक समेत रहेका राईले सरकार र आन्दोलनरत एउटा पक्षबीच भएको १३ बुँदे सहमतिले गम्भीर प्रश्न उठाएको बताए । उनले आफू कुनै पनि पक्षको मागलाई पूर्वाग्रहपूर्वक अस्वीकार गर्न नचाहने बताउँदै भने, ‘तर, धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्था र आयोगहरुसँग सम्बन्धित विषयहरु कुनै एक पक्षसँग गरिएको सहमतिबाट मात्र निष्कर्ष पुग्न सक्ने सामान्य विषय होइन ।’
राईले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनले माग गरे ।




प्रतिक्रिया