काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघ सरकारका चार मन्त्री सरकारले उपलब्ध गराउने निवासमा नबस्ने भएका छन् ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी एक उपप्रधानमन्त्री र दुई मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी भएका एक मन्त्रीले सरकारी आवास प्रयोग नगर्ने जानकारी गराएका हुन् ।
कार्यालयका अनुसार कांग्रेसबाट मन्त्री भएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारी आवास प्रयोग नगर्ने जानकारी गराएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पनि सरकारी निवास प्रयोग नगर्ने जानकारी गराएका छन् ।
उपप्रधानमन्त्री सिंह ठमेल चाक्सीबारी, उर्जामन्त्री खड्का बुढानीलकण्ठ, परराष्ट्रमन्त्री राणा देउवा बुढानीलकण्ठ र श्रममन्त्री भण्डारी भैंसेपाटीस्थित आफ्नै निजी निवासमा बस्ने जानकारी कार्यालयलाई गराएका हुन् ।
सरकारी निवास प्रयोग नगर्र्नेे मन्त्रीलाई सरकारले घर भाडाबापत मासिक ४० हजार रूपैयाँ र निवास मर्मतका लागि छुट्टै सुविधा उपलब्ध गराउने व्यवस्था कानुनमा छ । तर, सरकारी निवास प्रयोग नगर्ने मन्त्रीहरूले सरकारले उपलब्ध गराउने घरभाडा र मर्मत खर्च प्रयोग नगर्ने पनि बताएका छन् ।
अन्य मन्त्रीहरू भैंसेपाटीमा निर्माण भएको नयाँ सरकारी निवासमा सरिसकेका छन् ।
प्रतिक्रिया