‘०७९ मै जनम्याण्डेट पाएकाले कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन’

‘०७९ मै जनम्याण्डेट पाएकाले कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन’


महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले ०७९ को चुनावबाट जनताले म्यान्डेड दिइसकेकाले कांग्रेसले ०८४ कुर्नु पर्ने आवश्यकता नभएको बताए ।

कांग्रेस आजदेखि नै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी रहेको नेता साउदले बताए । पार्टीबाट जितेर गएका तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैं कांग्रेसको खोजी गर्ने उनको भनाइ थियो ।

जनता आकांक्षा र विकासका काममा कांग्रेसको मात्रै नभएर सबै राजनीतिक पार्टीको दायित्व रहेको भन्दै साउदले सस्तो लोकप्रियता धेरै नटिक्ने भएकाले इमान्दारिताका साथ जनताको बीचमा गएर जनताका मागहरु पूरा गर्न पार्टीका नेता र जनप्रतिनिधिको मुख्य जिम्मेवारी रहेकोमा जोड दिए ।

जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट नडराएर आफ्नो काममा केन्द्रित हुन आवश्यक रहेको साउदको भनाइ थियो ।

उनले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सक्रियताका साथ जिम्मेवारीमा रहेकाहरू ध्यान दिन आवश्यक रहेको बताए ।