चीन–नेपाल सम्बन्धमाथि उच्च ध्यान दिएको छुः राष्ट्रपति सी


काठमाण्डु – चीनले नेपाललाई संविधान दिवसको अवसरमा शुभकामना दिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्या भण्डारीलाई एक सन्देश पठाउँदै संविधान दिवसको शुभकामना दिएका हुन् । राष्ट्रपति सीले आफ्नो नेपाल भ्रमणपछि नेपाल र चीनबीचको सम्बन्ध अझै प्रगाढ बनेको बताएका छन् ।

चाईना रेडियो ईन्टरनेशनलको नेपाली सेवाकाअनुसार राष्ट्रपति सीले सेप्टेम्बर २० मा सन्देश पठाएर गत वर्ष आफू र राष्ट्रपति भण्डारीबीच आपसी भ्रमण गरेबाट दौत्य सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको बताएका छन् ।

‘यस वर्षयता दुई देशले मिलेर महामारीको विरूद्ध लडेबाट चीन र नेपालबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गर्नुभयो’, सिआरआईले भनेको छ, ‘चीन–नेपाल सम्बन्ध विकासमाथि आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग चीन–नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताउनुभयो ।’

त्यस्तै प्रधानमन्त्र खछ्याङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना दिँदै चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताएका छन् ।

‘केही वर्षयता दुई पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिर रूपमा अघि सारेको व्यक्त गर्नुभयो’, उनले भनेका छन् ।

त्यस्तै उनले चीनले नेपालसँग मिलेर महामारीविरुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएको उल्लेख गरेका छन् ।

‘ चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पार्ने इच्छा लिएको लीले प्रकट गर्नुभयो’, सिआरआईले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement