काठमाण्डु– त्रिवि क्रिकेट मैदानमा मंगलबार एउटा दृश्यले नेपाल प्रिमियर लिग (एनपीएल) को बढ्दो लोकप्रियता झल्कायो।
विश्व क्रिकेटमा ‘रावलपिण्डी एक्सप्रेस’ उपनामले परिचित पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोयब अख्तरलाई मैदानमा भव्य स्वागत गरियो। नेपाली क्रिकेट समर्थकको उत्साह र विदेशी क्रिकेटका चर्चित अनुहारप्रतिको आकर्षणले प्रतियोगिताको माहोल थप तताएको थियो।
तर, त्यही प्रतियोगितामा सहभागी हुन नेपाल आएका पाकिस्तानी खेलाडीको भविष्य अनिश्चित बनिरहेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्ना खेलाडीलाई एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) दिन अस्वीकार गरेको र अनुमति दिन प्रत्येक खेलाडीका लागि २५ हजार अमेरिकी डलर माग गरेको सार्वजनिक भएपछि एनपीएल विवादमा तानिएको छ।
एकातिर नेपाली दर्शक विदेशी खेलाडीको प्रदर्शन हेर्न उत्साहित छन्, अर्कोतिर ती खेलाडीलाई अनुबन्ध गर्न लगानी गरेका फ्रेन्चाइजीले प्रतियोगिता सुरू भइसकेको अवस्थामा खेलाडी गुमाउने जोखिम बेहोर्नुपरेको छ।
यसले एनपीएलको व्यावसायिक व्यवस्थापन, विदेशी खेलाडी अनुबन्धको प्रक्रिया र अन्तर्राष्ट्रिय क्रिकेट बोर्डहरूसँग नेपाल क्रिकेट संघ (क्यान) ले गर्ने समन्वयबारे गम्भीर प्रश्न पनि खडा गरेको छ।
विवादको केन्द्रमा अहिले एउटा प्रश्न छ : फ्रेन्चाइजीले सम्झौता गरेर नेपाल ल्याइसकेका खेलाडीलाई अन्तिम समयमा खेल्नबाट रोक्ने वा थप रकम माग गर्ने अधिकार सम्बन्धित क्रिकेट बोर्डले कुन आधारमा प्रयोग गर्न सक्छ ?
२५ हजार डलरको सर्तले विवाद
एनपीएलमा सहभागी हुन नेपाल आएका पाकिस्तानी खेलाडीको एनओसीसम्बन्धी विवाद सार्वजनिक भएपछि क्यान र पीसीबीबीचको सम्बन्धमा तनाव देखिएको छ। पीसीबीले क्यानलाई इमेल पठाउँदै ४८ घण्टाभित्र प्रत्येक खेलाडीको एनओसीका लागि २५ हजार अमेरिकी डलर माग गरेको बताइएको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले यसलाई गम्भीर विषयका रूपमा लिएका छन्। नेपाली फ्रेन्चाइजीले खेलाडी अनुबन्ध गर्न लगानी गरिसकेको र खेलाडीहरू नेपाल आइसकेको अवस्थामा पीसीबीको पछिल्लो व्यवहारले प्रतियोगिताको तयारी प्रभावित भएको उनले बताएका छन्।
चन्दले यो विषय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा उठाउने संकेत गरेका छन्। पीसीबीसँग प्रत्यक्ष संवाद गरेर समस्या समाधान गर्न खोज्दा पनि अपेक्षित सहजीकरण नभएको उनको गुनासो छ। पीसीबी अध्यक्षले फोनसमेत नउठाएको गुनासो उनको छ।
क्यानको मुख्य चासो रकममा मात्रै सीमित छैन। प्रतियोगिताका लागि खेलाडी अनुबन्ध गर्ने, हवाई टिकट र होटलको व्यवस्था गर्ने तथा टोलीको रणनीति बनाउने काम पूरा भएपछि अनुमति रोकिँदा फ्रेन्चाइजीको आर्थिक र खेल योजना दुवै प्रभावित हुन्छन्।
खेलाडीको सहभागिताका लागि अतिरिक्त रकम तिर्नुपर्ने अवस्था बनेमा फ्रेन्चाइजीले त्यसको भार आफैँ बेहोर्ने कि खेलाडीसँग बाँड्ने भन्ने अर्को समस्या आउँछ। एउटै प्रतियोगितामा सहभागी हुन आएका खेलाडीका हकमा फरकफरक सर्त लागू भए त्यसले टोलीहरूबीचको प्रतिस्पर्धात्मक सन्तुलनमा समेत असर पार्न सक्छ।
यद्यपि, पीसीबीले एनओसीका लागि माग गरेको रकमको औपचारिक आधार, त्यसको प्रकृति र सम्बन्धित खेलाडीका लागि लागू हुने अन्तिम सर्तबारे बोर्डको विस्तृत आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छैन।
कर्णाली याक्सको योजनामा फेरबदल
पीसीबीको निर्णयबाट प्रभावित हुने टोलीमध्ये कर्णाली याक्स पनि एक हो। कर्णालीले पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहानलाई एनपीएलका लागि अनुबन्ध गरेको थियो। उनी प्रतियोगिता खेल्न नेपाल आइसकेका थिए। तर पीसीबीले उनलाई फिर्ता बोलाएपछि उनको सहभागिता अनिश्चित बन्यो। उनी फिर्ता नै गइसकेका छन् ।
कर्णाली याक्सका सञ्चालक गृहेन्द्र घिमिरेका अनुसार फरहानलाई पीसीबीले इमेलमार्फत फिर्ता बोलाएको हो। पाकिस्तानको राष्ट्रिय टोलीमा श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलाका लागि समावेश गरिएको कारण देखाउँदै उनलाई स्वदेश फर्कन भनिएको बताइएको छ।
फरहान नेपाल आएको दुई दिनमै फर्कनुपर्ने अवस्था बनेपछि कर्णालीको खेलयोजना प्रभावित भएको छ। यद्यपि, श्रीलंकाविरुद्धको शृंखला सकिएपछि उनी पुनः नेपाल फर्कन सक्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइएको छ।
कर्णालीले पाकिस्तानी खेलाडीका लागि अतिरिक्त रकमको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल गरेको थियो। फरहानका एजेन्ट र फ्रेन्चाइजीले एनओसीसम्बन्धी रकम आधा–आधा बेहोर्ने सहमति भएको भएको बताइएको छ। तर पीसीबीले फरहानलाई फिर्ता बोलाएपछि उनको सहभागिता फेरि अन्योलमा परेको छ।
कर्णालीको समस्या केवल एक खेलाडीको अनुपस्थितिमा सीमित छैन। विदेशी खेलाडीलाई आधार मानेर बनाइएको टोलीको सन्तुलन, खेलअघि गरिने तयारी र प्रतियोगिताका लागि छुट्याइएको बजेटमा समेत त्यसको असर पर्न सक्छ।
जनकपुरले दुई पाकिस्तानी खेलाडी गुमायो
पीसीबीको सर्तका कारण जनकपुर बोल्ट्स पनि प्रभावित भएको छ। जनकपुरमा आबद्ध अलराउन्डर इफ्तिखार अहमद र बलर हुसेन साह एनपीएल नखेल्ने अवस्थामा पुगेका छन्।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले दुवै खेलाडीको विकल्पमा विदेशी खेलाडी अनुबन्ध गर्ने निर्णय भइसकेको बताएका छन्। उनका अनुसार एक जना श्रीलंकाली र एक जना बंगलादेशी खेलाडी ल्याउने गरी सम्झौता भएको छ। नयाँ खेलाडीको नाम पछि सार्वजनिक गरिने उनले बताएका छन्।
जनकपुरले दुवै पाकिस्तानी खेलाडीका लागि माग गरिएको अतिरिक्त रकम तिर्न तयार नभएपछि उनीहरूलाई खेलाउन नसक्ने अवस्था आएको विवरण सार्वजनिक भएको छ। दुई खेलाडीका लागि ५० हजार अमेरिकी डलर अतिरिक्त खर्च गर्नुपर्ने अवस्था बनेपछि फ्रेन्चाइजीले विकल्प खोजेको हो।
इफ्तिखार र हुसेन साह एनपीएल खेल्न अनुमति लिएर नेपाल आइसकेका थिए। उनीहरू टोलीसँगै अभ्यासमा समेत सहभागी थिए। तर आफ्नै क्रिकेट बोर्डबाट अनुमति र रकमसम्बन्धी समस्या आएपछि उनीहरूको सहभागिता रोकिएको हो।
खतिवडाले खेलाडीहरू तत्काल फर्कने मिति तय नभए पनि उनीहरूलाई अभ्यासमा सहभागी गराएर युवा खेलाडीलाई अनुभव बाँड्ने अवसर उपयोग गर्न सकिने बताए। खेल्न नपाए पनि अभ्यासमा उनीहरूको उपस्थितिले नेपाली खेलाडीलाई फाइदा पुग्न सक्ने जनकपुरको अपेक्षा छ।
जनकपुरले नयाँ खेलाडी ल्याउने निर्णय गरेसँगै अब टोलीको संरचना फेरिनेछ। तर अन्तिम समयमा खेलाडी परिवर्तन गर्दा उनीहरूको खेलशैलीसँग तालमेल मिलाउने, टोलीमा समायोजन गर्ने र प्रतियोगिताको रणनीति परिमार्जन गर्ने चुनौती थपिन्छ।
केही खेलाडी खेल्ने, केही फर्कने अन्योल
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिताबारे देखिएको समस्या सबै खेलाडीका हकमा एउटै छैन। कतिपय खेलाडीलाई फिर्ता बोलाइएको छ भने कतिपयको सहभागिताबारे फ्रेन्चाइजी र पीसीबीबीच छलफल जारी छ।
कर्णाली याक्सका लागि फरहानको सहभागिता अनिश्चित बने पनि पाकिस्तानी खेलाडी हुसेन तलतलाई अतिरिक्त रकम तिरेर खेलाउने व्यवस्था भएको विवरण सार्वजनिक भएको छ। यसले एउटै प्रतियोगितामा सहभागी खेलाडीका हकमा समेत फरकफरक निर्णय र आर्थिक व्यवस्था हुन सक्ने अवस्था देखाएको छ।
पाकिस्तानी खेलाडीको सूचीमा साहिबजादा फरहान, हुसेन तलत, हैदर अली, इफ्तिखार अहमद, हसन अली, उसामा मिर र हुसेन साहलगायतका नाम आएका छन्। उनीहरूको सहभागिता, एनओसीको अवस्था र फ्रेन्चाइजीसँग भएका सम्झौताबारे भने छुट्टाछुट्टै विवरण आवश्यक छ।
प्रतियोगितामा सहभागी खेलाडीमध्ये कसलाई कुन आधारमा अनुमति दिने वा नदिने भन्ने विषय स्पष्ट नहुँदा फ्रेन्चाइजीले आफ्ना टोलीको अन्तिम संरचना निर्धारण गर्न कठिनाइ भोगिरहेका छन्। खेलाडी अनुबन्ध गर्दा गरिएको सम्झौता र बोर्डको पछिल्लो निर्णयबीच तालमेल नमिल्दा जोखिम अन्ततः नेपाली टोलीले बेहोर्नुपर्ने अवस्था देखिएको छ।
एनओसी के हो, बोर्डले किन रोक्न सक्छ?
विदेशी फ्रेन्चाइज लिग खेल्न जाने खेलाडीका लागि सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डले जारी गर्ने नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी महत्त्वपूर्ण अनुमति हो। यसले खेलाडीलाई आफ्नो राष्ट्रिय क्रिकेट बोर्डको नियम र सर्तअनुसार विदेशमा व्यावसायिक प्रतियोगिता खेल्न अनुमति दिन्छ।
क्रिकेट बोर्डहरूले खेलाडीको कार्यभार व्यवस्थापन, चोटपटकको जोखिम, राष्ट्रिय टोलीको तयारी र घरेलु प्रतियोगिताको प्राथमिकतालाई ध्यानमा राखेर एनओसी दिने वा नदिने निर्णय गर्न सक्छन्। विशेषगरी तीव्र गतिका बलरको कार्यभार व्यवस्थापन र अन्तर्राष्ट्रिय शृंखलाअघि खेलाडीलाई फिट राख्नु बोर्डका सामान्य चासो हुन्।
पीसीबीले पनि आफ्ना खेलाडीलाई विदेशी लिगमा खेल्न अनुमति दिने क्रममा यस्ता विषयलाई आधार बनाउन सक्छ। पाकिस्तानमा लागू एनओसीसम्बन्धी नीतिअनुसार विदेशी लिगमा सहभागिताको सीमा र अनुमति प्रक्रियाका व्यवस्था रहेको बताइन्छ।
तर एनपीएलको अहिलेको विवादमा मुख्य प्रश्न खेलाडीको कार्यभार वा राष्ट्रिय टोलीको कार्यक्रम मात्र हो कि अतिरिक्त रकमसम्बन्धी सर्त पनि हो भन्ने हो।
एनपीएलमा खेल्न आएका सबै पाकिस्तानी खेलाडी राष्ट्रिय टोलीको एउटै कार्यक्रममा समावेश नभएको कुरा पनि बाहिरिएको छ।
फरहानलाई भने श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलाका लागि बोलाइएको बताइएको छ। त्यसैले सबै खेलाडीलाई एउटै कारण देखाएर रोकिएको हो वा फरक खेलाडीका हकमा फरक निर्णय गरिएको हो भन्ने स्पष्ट हुन आवश्यक छ।
पीसीबीको आधिकारिक निर्णय र सम्बन्धित खेलाडीको सम्झौता सार्वजनिक नभएसम्म एनओसी रोक्नुको वास्तविक कारणबारे ठोस निष्कर्ष निकाल्न कठिन छ। तर अनुमति प्रक्रियामा अन्तिम समयमा आएको परिवर्तनले प्रतियोगितामा प्रत्यक्ष असर पारेको तथ्य भने स्पष्ट छ।
आईसीसीको मान्यताले एनपीएलको उत्साह
एनपीएलले नेपालमा क्रिकेटको व्यावसायिक बजार विस्तार गर्ने अपेक्षा बढाएको छ। विदेशी खेलाडीको सहभागिता, फ्रेन्चाइजीको लगानी, दर्शकको आकर्षण र प्रतियोगिताको अन्तर्राष्ट्रिय पहुँचले नेपाली क्रिकेटलाई नयाँ स्तरमा पुर्याउने सम्भावना देखिएको छ।
एनपीएलले आईसीसीको मान्यता पाएको सन्दर्भमा प्रतियोगिताको अन्तर्राष्ट्रिय विश्वसनीयता र नेपाली क्रिकेटको बजार विस्तारबारे पनि चर्चा भइरहेको छ। यस्तो अवस्थामा विदेशी क्रिकेट बोर्डसँगको समन्वय र खेलाडी अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउनु क्यानका लागि महत्त्वपूर्ण हुन्छ।
नेपालमा विदेशी खेलाडीको माग बढ्नु र फ्रेन्चाइजीले उनीहरूलाई अनुबन्ध गर्न ठूलो रकम खर्च गर्नुले प्रतियोगिताको व्यावसायिक सम्भावना देखाउँछ। तर खेलाडीलाई अन्तिम समयमा रोक्ने, अतिरिक्त रकमको माग उठ्ने वा टोलीले खेलाडी परिवर्तन गर्नुपर्ने अवस्था दोहोरिएमा लगानीकर्ताको विश्वास कमजोर हुन सक्छ।
पीसीबीले एनपीएलको बढ्दो लोकप्रियतालाई प्रतिस्पर्धाका रूपमा लिएको हो भन्ने चर्चा पनि सुनिन थालेको छ। अहिले पाकिस्तानको बोर्डले जानाजानी एनपीएललाई असफल बनाउन खोजेको निष्कर्ष निकाल्न त नमिल्ला। तर अहिले देखिएको विवादलाई अनुमति प्रक्रिया, आर्थिक सर्त र दुई क्रिकेट संस्थाबीचको समन्वयको समस्याका रूपमा हेर्दा भने गलत हुँदैन
क्यानका चुनौती
क्यानका लागि तत्कालको चुनौती पाकिस्तानी खेलाडीको सहभागिताबारे स्पष्ट निर्णयमा पुग्नु हो। फ्रेन्चाइजीले खेलाडीको विकल्प खोजिरहेका बेला ढिलाइ भए प्रतियोगिताको तयारी र खेलको गुणस्तरमा असर पर्न सक्छ।
दोस्रो चुनौती भविष्यमा यस्ता समस्या दोहोरिन नदिन विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रियालाई सुरक्षित बनाउनु छ। खेलाडी नेपाल पठाउनुअघि एनओसीको अवस्था, सम्बन्धित बोर्डका सर्त, सम्भावित अतिरिक्त शुल्क र राष्ट्रिय टोलीको कार्यक्रमबारे लिखित स्पष्टता लिने व्यवस्था आवश्यक भएको छ।
क्यान अध्यक्ष चन्दले यो विषय आईसीसीमा उठाउने संकेत गरेकाले अब विवादले दुई बोर्डबीचको संवादको रूप लिन सक्छ। तर समस्या समाधानका लागि पीसीबीको आधिकारिक धारणा, क्यानको पत्राचार र प्रभावित फ्रेन्चाइजीसँग भएका सम्झौताका विवरणमा प्रष्टीकरण चाहिएको छ।
नेपाली फ्रेन्चाइजीले विदेशी खेलाडीमा लगानी गर्दा प्रतियोगिता अवधिभर उनीहरूको उपलब्धता सुनिश्चित हुने अपेक्षा गरेका हुन्छन्। राष्ट्रिय बोर्डको अनुमति आवश्यक पर्ने अवस्थामा त्यो अपेक्षा पूरा गर्न सम्बन्धित पक्षबीच पहिले नै स्पष्ट सहमति चाहिने हुन्छ।
अख्तरको स्वागत र विरोधाभास
मंगलबार त्रिवि क्रिकेट मैदानमा शोयब अख्तरको भव्य स्वागतले नेपाली दर्शक विदेशी क्रिकेटका चर्चित व्यक्तित्वप्रति कति आकर्षित छन् भन्ने देखायो। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरका खेलाडी र समर्थकको ध्यान खिच्न थालेको संकेतका रुपमा यसलाई बुझ्न सकिन्छ।
तर त्यही मैदानमा खेल्न आएका पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा पर्नुले अर्को यथार्थ पनि बाहिरिएको छ। दर्शकको आकर्षण र प्रतियोगिताको लोकप्रियता मात्रै पर्याप्त हुँदैन, विदेशी खेलाडीको उपलब्धता, बोर्डहरूको सहकार्य र फ्रेन्चाइजीको लगानी सुरक्षित हुने वातावरण हामीलाई चाहिएको छ।
एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिक रूपमा अघि बढाउने अवसर दिएको छ। त्यस अवसरलाई दिगो बनाउन क्यानले अन्तर्राष्ट्रिय क्रिकेट संस्थासँगको समन्वय बलियो बनाउनुपर्ने बाध्यता क्यानसँग छ। विदेशी बोर्डहरूले पनि अनुमति र सहभागितासम्बन्धी सर्त समयमै स्पष्ट पार्नुपर्ने कुरा पीसीबीको बचकनाले देखाएको छ।
अहिलेको विवाद प्रतियोगिताको बीचमा खेलाडी फिर्ता बोलाउने र अतिरिक्त रकमको विवाद झिक्ने गर्नाले बढेको छ। यसले नेपाली फ्रेन्चाइजीको विश्वासमा असर पार्ने चिन्ता फ्यानहरूलाई छ।
यसलाई समयमै समाधान गर्न नसकिए आगामी संस्करणमा विदेशी खेलाडी अनुबन्ध गर्ने निर्णय गर्दा टोलीहरूले थप जोखिमको मूल्यांकन गर्नुपर्नेतर्फ क्यान अध्यक्ष चन्दले पनि चासो देखाएका छन्।
नेपाली क्रिकेटको बढ्दो लोकप्रियतालाई दिगो व्यावसायिक सफलतामा बदल्न मैदानभित्रको प्रतिस्पर्धासँगै मैदानबाहिरको व्यवस्थापन पनि उत्तिकै भरपर्दो चाहिएको छ। अहिले पीसीबीले झिकेको विवादले यही प्रश्नको उत्तर खोज्न बाध्य पारेको छ।


प्रतिक्रिया