एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने


काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पुर्याउने भएको छ ।

यही माघ ४ र ५ गते रुपा गाउँपालिकास्थित रुपाकोटमा बसेको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भ्रमण वर्षमा विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने र भ्रमण वर्षमा नआउने पर्यटकका लागि समेत नेपाल घुम्नका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गरिने सङ्घका अध्यक्ष कुमार पन्तले बताए ।

एनआरएनले नेपालका कूटनीतिक नियोग रहेका देशमा नियोगसँगको सहकार्यमा त्यहाँ हुने विभिन्न फेस्टिवल तथा सार्वजनिक यातायातमा भ्रमण वर्षको प्रचार गर्ने तथा नियोग नभएका देशमा आफूहरु एक्लैले समेत प्रवद्र्धननात्मक क्रियाकलाप सञ्चालन गर्ने उनले जानकारी दिए ।

बैठकले नेपाल सरकारको साझेदारीमा आगामी अक्टोवरमा दोस्रो एनआरएन विश्व विज्ञ सम्मेलन आयोजना गर्ने, वैदेशिक रोजगारीका समस्या र सम्भावनाको पहिचान गरी छ महिनाभित्र एक स्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्न उनीहरुको विवरण सङ्कलनका लागि सरकारले अघि सारेको श्रम बैँक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नमूना सार्वजनिक शौचालय निर्माण अघि बढाउने र छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामीण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संसद्मा विचाराधीन नागरिकता ऐन संसद्को यसै हिउँदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुसार गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने तथा एनआरएनद्वारा प्रस्तावित र सरकारद्धारा घोषणा गरिसकेको तथा कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गरी महिला कामदारको समस्या समाधानमा सरकारी निकायसँग पलह गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले सन् २०१९ देखि २०२१ सम्मका लागि विस्तृत कार्ययोजना तयार गरेको तथा सङ्घको सदस्यता वितरण र व्यवस्थापन, अन्तरराष्ट्रिय राष्ट्रिय समन्वय परिषद्का निर्वाचनलगायतका गतिविधिलाई डिजिटल प्रविधिमैत्री बनाउन प्रस्ताव गरिएको ‘स्मार्ट एनआरएनए’ परियोजना आगामी छ महिनाभित्र सम्पन्न गर्ने निर्णयसमेत लिएको बताइन्छ । एनआरएनले बैठक पश्चात गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement