ओखलढुङ्गामा ‘खिजिदेम्बा अल्ट्रा म्याराथुन’ प्रतियोगिता हुँदै


काठमाडौं – ओखलढुङ्गामा खिजिदेम्बा अल्ट्रा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । ओखलढुङ्गाका पर्यटकीय गन्तव्य चिनाउने तथा भ्रमण वर्षको प्रचार प्रसार गर्ने उद्देश्यले ४२ किलोमिटर लामो खिजिदेम्बा अल्ट्रा म्याराथन दौड आयोजना हुने भएको हो ।

आइतबार ओखलढुङ्गा पर्यटन विकास समितिले एक पत्रकार सम्मेलन आयोजना गर्दै फागुन १९ गते दोस्रो संस्करणको अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको जनाकारी दिएको हो । समितिले म्याराथनका विजेतालाई आकर्षक पुरस्कार राशीको समेत घोषणा गरेको छ ।

खिजीदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल माउन्टेनरिङ एशोसिएशनसँगको समन्वयमा म्याराथन गर्न लागिएको आयोजक समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले जानकारी दिए । म्याराथन दौडले नेपाल भ्रमण वर्षलाई समेत सहयोग आयोजकको विश्वास छ ।

पिके हिमालको फेदीसम्म हुने म्याराथन खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको रुट हुँदै खिजी फलाटेमा समापन हुनेछ । म्याराथन दौड चुप्लुभञ्याङ, थोलेदेम्बा, ताक्लुङ, ल्ह्मुचे, बुलबुले, दोराखर्क, ताउर हुँदै पुनः खिजीफलाटेमा आएर समापन हुनेछ ।

महिला पुरुषबीच प्रतियोगितात्मक रूपमा हुने म्याराथनको विजेताले नगद ७० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि फागुन ८ गतेसम्म नाम दर्ता गर्न आयोजकले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement