माओवादी केन्द्रमाथि खनिए ओली, प्रचण्डसँग सहकार्य टुट्ने संकेत !


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरुद्ध अभिव्यक्ति दिएका छन् । बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओली नेकपा माओवादी केन्द्रमाथि खनिएका हुन्।

माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र विद्रोह जनयुद्ध नभई हिंसा दिवस भएको उनले दावी गरे । प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसाको महिमामण्डन गर्दै हिँडेको ओलीको भनाई छ ।

“त्यो हिंसाको धङधङी के देखिन्छ भने, अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुराचाहिँ सही होइन,” उनले भने, “सरकारले किन त्यो गर्‍यो रु आकास्मिक रूपमा त्यो किन गर्नुपर्‍यो रु आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नपर्‍यो रु त्यो मैले पनि बुझेको छैन ।”, अध्यक्ष ओलीले भने ।

यसैबीच ओलीले यस्तो अभिव्यक्ति दिएपछि राष्ट्रपतिमा सहमति नजुटेका कारण प्रचण्डसँग सम्बन्ध बिग्रिएको ठहर गरिएको छ । २९ माघमा सरकारले फागुन १ मा बिदा दिने निर्णय गर्दा भने ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्। प्रचण्डले पुस १० गतेको सहमति अनुसार राष्ट्रपति निर्वाचनमा एमालेलाई समर्थन गर्न आनाकानी गरेपछि ओलीले राष्ट्रपतिको उम्मेदवारमा माधवकुमार नेपाललाई अघि सारेका छन् ।

प्रचण्ड भने नेपाली कांग्रेससँग नजिकिएका छन् । प्रचण्डले पुरानो गठबन्धन ब्युँताउने प्रयास गरिरहेका छन् । कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमतिसमेत भइसकेको छ । यसैबीच ओलीले नेकपा माओवादी केन्द्रको विरुद्ध अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement