यो सरकारले आमालाई ल्याएको सिक्री खोसेर लान्छ, क्विन्टल सुन तस्करीलाई संरक्षण गर्छः ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफै दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको बताएका छन् । बुधबार वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार आफै दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका हुन् ।

अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने उनको भनाइ छ । ‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्ष पछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर, दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले । ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’, ओलीले प्रश्न गर्दै भने ।

उनले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको समेत बताएका छन् । ‘किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement