प्रधानमन्त्री ओलीको ट्वीटले ल्याएको तरंग, अाेलीलार्इ भेटेर यस्ताे भने प्रचण्डले


काठमाडौं– ‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ। सार्वभौमसत्ता जनतामा थियो र छ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत सोमबार गरेको ट्वीट हो यो।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कोर्ष अन्तिम चरणमा रहेको नेताहरूले बताइरहेका बेला ओलीले यस्तो ट्वीट गरे–जसले एमाले र माओवादीमा तरंग नै ल्याइदियो। ओलीको उक्त ट्वीट माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी थियो।

माओवादी केन्द्रको मंगलबारको बैठकमा प्रचण्डले सो बारे आफू ओलीसँग कुरा गर्ने बताएको माओवादी नेता अग्नि सापकोटाले बताएका थिए।

ट्वीट प्रकरण त्यतिमै सीमित भएन। प्रचण्डलाई आशंका पैदा गरिदियो। एकताको उद्घोषसहित चुनाव लडेर सरकार बनाएका एमाले र माओवादीबीचको एकताको अन्तिम कोर्ष अगाडि बढिरहेका बेला ओलीको ट्वीटले आशंका पैदा गर्यो।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा ‘ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफलपश्चात वातावरण सहज बन्यो’ प्रचण्डको अफिसियल वेबसाइट सीएमप्रचण्ड डटकममा भनिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा छलफल भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement