पार्टी एकतालाई टुंगो लगाएर मात्रै ओली थाइल्याण्ड जाने, कार्यदल बनाएर गृहकार्य गर्ने समझदारी


काठमाडौं – एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो ।

 

 

 

 

ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र प्रचण्डबीच १६ पुसमा प्रचण्डनिवास खुमलटारमा एकता केन्द्रित रहेर छलफल भएको थियो । नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ ।

 

 

 

 

 

 

सैद्धान्तिक–वैचारिक र सांगठनिक एकीकरण कार्यदल

पार्टी एकतालाई अन्तिम रूप दिन सैद्धान्तिक–वैचारिक र सांगठनिक एकता संयुक्त कार्यदल बनाउने समझदारी भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए ।

‘संयुक्त कार्यदलले गर्ने गृहकार्यका आधारमा अन्तिम टुंगोमा पुगिनेछ,’ भेटवार्तापछि प्रचण्डले सञ्चारकर्मीहरूसँग भने ।

दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ ।

‘दुवै पार्टीबाट मिलाएर सानो टिम रहेको कार्यदल बनाउने समझदारी भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘कार्यदलमा रहने सदस्यहरूको नाम दुवै पार्टीले आन्तरिक बैठकमार्फत टुंगो लगाउनेछन् ।’

सैद्धान्तिक र वैचारिक तथा सांगठनिक एकताको ‘मोडालिटी’का विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूबीच पनि अनौपचारिक छलफल चलिरहेको छ ।

एमालेबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरूले अनौपचारिक तहमा ‘मोडालिटी’का विषयमा अनौपचारिक छलफल चलाउँदै आएका छन् ।

यद्यपि, अनौपचारिक छलफलकै विषयलाई कार्यदलमार्फत अन्तिम रूप दिएर एकता संयोजन समितिबाट अन्तिम टुंगो लगाउने नेताहरूको समझदारी छ ।

 

 

 

 

आज दुवै पार्टीमा आन्तरिक छलफल

पार्टी एकता र समसामायिक राजनीतिक विषयमा छलफल गर्न दुवै दलले सोमबार स्थायी समिति बैठक बोलाएका छन् ।

आइतबार दुई नेताबीच भएको समझदारी र संयुक्त कार्यदलका विषयमा दुवै पार्टीका अध्यक्षले स्थायी समितिमा ‘ब्रिफिङ’ गर्ने तयारी गरेका छन् ।

आन्तरिक छलफलपछि एकता समिति संयोजन समितिको बैठकबाट अन्तिम निर्णय गर्ने ओली र प्रचण्डबीच समझदारी छ ।

 

 

 

मंगलबार एकता संयोजन समितिको बैठक

प्रचण्डका अनुसार दुवै पार्टीले आन्तरिक निर्णय गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्नेछ ।

‘आन्तरिक छलफलपछि एकता संयोजन समितिको बैठकमार्फत केही दिनभित्र एकता प्रक्रिया निष्कर्षतिर पुग्नेछ,’ प्रचण्डले भने ।

समितिमा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट प्रचण्डसहित नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् ।

 

 

 

एकतालाई गति दिएर ओली थाइल्यान्ड जाने

एकता संयोजन समितिबाट कार्यदल गठन भएलगत्तै एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य उपचारको सिलसिलामा २६ पुसमा थाइल्यान्ड प्रस्थान गर्दै छन् ।

बैंककस्थित बुमरुङगार्ड अस्पतालमा स्वास्थ्य परीक्षणपछि ओली एक सातापछि स्वदेश फर्किनेछन् ।

ओली एक साता अस्वस्थ रहेका कारण दुई नेताबीच औपचारिक भेटघाट नभए पनि नियमित टेलिफोन संवाद भइरहेको थियो ।

२० पुसमा गृहजिल्ला चितवन गएका प्रचण्ड काठमाडौं फर्किएलगत्तै दुई नेताबीच संवाद भएको हो ।

 

आन्तरिक गृहकार्यपछि कार्यदलको प्रस्ताव

एकता प्रक्रियाका विषयमा विभिन्न मोडालिटीमा छलफल गर्दै आएका ओली र प्रचण्ड आन्तरिक गृहकार्यपछि संयुक्त कार्यदल बनाउने निष्कर्षमा पुगेका छन् । ओलीले यसबीचमै नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतसँग सुझाब लिएका थिए ।

त्यस्तै, प्रचण्डले पनि नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतसँग अनौपचारिक छलफल गरेका थिए ।

 

 

अन्तिममा मुख्य नेतृत्वको टुंगो

कार्यदलले एकताको सैद्धान्तिक र सांगठनिक मोडालिटी तयार पारेपछि मात्रै सरकार र पार्टीको नेतृत्वबारे अन्तिम टुंगो लगाउने भएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने करिब निश्चित भए पनि पार्टी नेतृत्व कसरी टुंग्याउनेबारे दुई नेताबीच निरन्तर संवाद चल्दै आएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement