नेकपा विवाद सहमतिउन्मुख, प्रचण्डका लागि पद छाड्न ओली तयार


काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेर मत्थर हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद बढेको थियो ।

पटक–पटकका द्विपक्षीय र बहुपक्षीय छलफल, स्थायी कमिटी बैठक अनिश्चित भएको अवस्थाबाट अब नेकपा विवाद सहमतिउन्मुख देखिएको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको माग अनुसार ओली अध्यक्ष पद छाड्न तयार भएका छन् ।

प्रचण्ड–नेपाल पक्षले विधि–प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने तर्क गरिरहेका बेला ओलीले समेत त्यही तर्क प्रस्तुत गर्दै विधिप्रक्रिया अनुसार नै आफूले पार्टीको अध्यक्ष पद छाड्ने मञ्जुरी व्यक्त गरेका छन् । आगामी चैतमा पार्टी महाधिवेशन गरेर आफूले पार्टी अध्यक्ष छाड्ने र प्रधानमन्त्री मात्रै रहने गरी ओली लचिलो बनेका छन् । यसअघि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिए पनि अन्य नेताले पत्याएका थिएनन् ।

महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षले महाधिवेशनबाटै पार्टी नेतृत्व हस्तान्तरण गर्नु विधिसम्मत हुने तर्क प्रधानमन्त्री ओलीले गरेका छन् । आगामी चैतमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विषयमा अध्यक्ष प्रचण्ड समेत सकारात्मक देखिएको स्रोतले जनाएको छ । यसअघि पटक–पटक ओलीले प्रचण्डलाई महाधिवेशनमा एकल अध्यक्ष बनाउन सघाउने बताउँदै आएका छन् ।

बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर भएको छलफलमा ओली लचिलो बनेका छन् । ओलीले उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावकै भावमा आफ्ना कुरा राखेको स्रोतले जनाएको छ । नेकपा विवाद उत्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमले सहमतिको प्रस्ताव भन्दै दुवै अध्यक्षलाई ६ बुँदे प्रस्ताव बुझाएका थिए । गौतमको प्रस्तावमा प्रधानमन्त्री ओली नै रहने, महाधिवेशनबाट एकल अध्यक्ष चयन गर्ने, पार्टीको सल्लाहमा सरकार चलाउने लगायत बुँदा समेटिएका छन् ।

आईतबारको छलफलमा ओलीले स्पष्ट सन्देश दिएका छन् – प्रधानमन्त्री नछाड्ने र विधिप्रक्रिया अनुसार अध्यक्ष पद छाड्न महाधिवेशन हुनुपर्ने । नेकपा शीर्ष नेतृत्व महाधिवेशनमा केन्द्रित हुन सहमत भए विवाद अन्त्य हुने देखिएको छ । नेकपाका आमकार्यकर्ता पंक्तिले समेत महाधिवेशनबाटै नेतृत्व चयन, वैचारिक विवादको अन्त्य लगायत विषय उठाउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले राख्दै आएको महाधिवेशनको प्रस्तावमा अध्यक्ष प्रचण्ड समेत सकारात्मक छन् । तर माधव नेपाल समूहले ओलीले तत्कालै एक पद छाड्नुपर्ने अडान राखेको छ । नेपाल समूहको दबाबमा परेर प्रचण्डले सहमति गर्न सकेका छैनन् । आफू नेतृत्वको पूर्व माओवादी समूह छिन्नभिन्न भएपछि प्रचण्डमाथि सहमति गर्नैपर्ने दबाब बढेको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीको राजीनामा माग्न नहुने अडानमा छन् भने मन्त्री लेखराज भट्ट प्रचण्डलाई छाडेर ओलीतिर लागेका छन् । अन्य केही नेता समेत माधव नेपाल समूहतिर लागेकाले प्रचण्ड पक्षमा थोरै नेता मात्रै बाँकी रहेका छन् । जसले गर्दा प्रचण्ड–नेपाल समूहमा समेत प्रचण्ड अल्पमतमा पर्ने देखिएकाले ओलीसँगै सहमति गरेर जानु उपयुक्त हुने सुझाव पूर्व माओवादी पक्षको छ ।

आईतबार प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे प्रचण्डले खुमलटारमा वरिष्ठ नेता नेपाल, प्रवक्ता नारयणकाजी श्रेष्ठ लगायतसँग छलफल गरिरहेका छन् । प्रचण्ड–नेपाल समूहका सबैसँग सल्लाह गरेर मात्रै प्रचण्डले ओलीसँग सहमति गर्ने खुमलटार स्रोतले जनाएको छ ।

यो पनि पढौं-

नेकपाभित्र पूर्व माओवादी समूह छिन्नभिन्न, यस्तो छ पछिल्लो समिकरण

नेकपाभित्र शक्ति बढाउँदै गृहमन्त्री बादल, ‘बार्गेनिङ पावर’ बढाउने रहस्य

प्रतिक्रिया दिनुहोस
Advertisement