रविबारे सर्वोच्चको पूर्णपाठ आएपछि निर्णय गर्छुः प्रचण्ड, ओली भन्छन्ः पुराण वाचन गर्ने हो ?


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले नै गृहमन्त्रालय पाउने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै पहिला भएको सहमति अनुसार रास्वपाले नै गृहमन्त्रालय पाउने बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् ।

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो । यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए ।

ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । हिजो मात्रै प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय लिने बताए ।

यसैबीच अध्यक्ष ओलीले भने गृहमन्त्रीबारे निर्णय लिन अदालतको पूर्णपाठ नचाहिने दाबी गरे । पहिला भएको सहमति अुसार गृहमन्त्रालय रास्वपाले नै पाउने र कसलाई गृहमन्त्री बनाउनेबारे सो पार्टीको जिम्मा भएको ओलीको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्नेबारे दिएको अभिव्यक्तिप्रति बोल्दै ओली भने,‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र?’

पछिल्लो समय ओलीले रविलाई साथ दिइरहेका छन् । तर, गृहमन्त्री माओवादीलाई दिने प्रधानमन्त्री प्रचण्डको दाउ छ । यस विषयले ओली र प्रचण्डको सम्बन्धन चिसिएको समेत आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement