ओलीको प्रस्तावमा राजपा र फोरमको ‘ग्रिन सिङ्नल’


काठमाडौं – मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको  सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन्। संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम  सरकारमा सहभागी हुने विषयमा छलफल गर्न  सकारात्क देखिएका हुन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए। स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा  र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए।

वार्तामा ओलीले  आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटर अघि बढ्ने बताएका थिए। नेतात्रयबीच सरकार गठन हुनुअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो। तर माओवादीसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ। ‘अर्को चरणमा कुराकानी नभईकनै ओली प्रधानमन्त्री नियुक्त हुनुभयो। त्यसपछि कुराकानी भएको छैन’, राजपा एक शीर्ष नेताले भने। राजपा अध्यक्षमण्डल सदस्य महेन्द्र यादवले संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीले समयसीमा राखेर प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने बताउँछन्।

‘संविधान संशोधनका लागि प्रधानमन्त्रीले टाइम बाउन्डरी राखे सरकारमा जाने विषयमा छलफलका लागि ढोका खुला हुन्छ,’ उनले भने।राजपा सहमहामन्त्री सुरेन्द्र झाले ओली र ठाकुरबीच कुराकानी भएको स्वीकार्दै भने, ‘हाम्रो उद्देश्य संविधान संशोधन र मधेस मुद्दा सम्बोधन हो। यसमा ओलीजी प्रतिबद्ध भए सरकारमा जान्नौं भन्ने हाम्रो भनाइ होइन। तर पनि हाम्रो प्राथमिकता सरकारभन्दा मधेस मुद्दा सम्बोधन हो।’

फोरम राजीतिक समिति सदस्य रेखा यादवले  पनि एमाले अध्यक्ष ओली र आफ्नो पार्टी अध्यक्ष यादववीच कुराकानी भएको बताइन्। उनले भनिन्, ‘संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी छलफल गर्न तयार छांै।’ ओली र यादवबीचको कुराकानी सकरात्मक भएको दाबी गर्दै उनले थपिन्, ‘हामीले एमाले अध्यक्ष केपी ओलीलाई संविधान संशोधननका लागि अघि बढ्नुहोस् भनी सल्लाह दिएका छौं। उहाँले के गर्नु हुन्छ। त्यो हेर्न बाँकी नै छ। ’स्रोतका अनुसार, राजपाभित्र ओली सरकारलाई हेर्ने दृष्टिकोणबारे दुइ धार देखिएको छ। राजेन्द्र महतो, महेन्द्र यादव र अनील झा सरकारप्रति लचिलो हुनुपर्ने पक्षमा छन्।

एमालेसँग चिसिएको सम्बन्ध सुधार नगरे संविधान संशोधन पनि नहुने र पाँच वर्षसम्म केन्द्रीय सरकारबाट बाहिर बस्नुपर्ने निष्कर्ष महतो, यादव र झाको छ। फोरम  पनि संविधान संशोधन गर्न एमालेसँग मिलेर जानुपर्ने निष्कर्षमा पुगेका छन्। तर राजपा अध्यक्षमण्डल संयोजक ठाकुर, अध्यक्षमण्डलका सदस्यद्वय शरतसिंह भण्डारी र राजकिशोर यादव लोकतान्त्रिक गठबन्धन छाडेर एमालेसँग नजिक हुन नहुने पक्षमा रहेको स्रोत बताउँछ। भण्डारी र यादवको तुलनामा पछिल्लो समयमा ठाकुर एमालेप्रति अलि नरम देखिएको स्रोतको दाबी छ।ओलीसँगको कुराकानीपछि ठाकुर र यादव जनकपुर गएका छन। यादव आइतबार काठमाडौं फर्कने छन्।

राजपा र फोरमसँगको सम्बन्ध सुधारमा एमाले दोस्रो तहका केही नेता पनि सक्रिय रहेको स्रोतको भनाइ छ। खासगरी एमाले नेता रुघुवीर महासेठले यसमा चासो दिएका छन्।

महासेठले प्रतिनिधिसभा चुनावलगत्तै राजपा र फोरम नेतासँग सम्बन्ध सुधारका लागि अनौपचारिक कुराकानी गर्दै आएका छन्। राजपा एक नेताले भने ओलीले पछिल्लो समयमा राजपा र फोरमसँगको संवादलाई कम महत्व दिएको गुनासे गरे। ती नेताले भने, ‘माओवादीसँग कुरा मिलेपछि एमाले अध्यक्ष ओलीले हामीसँगको संवादलाई कम महत्व दिनुभयो।’यादव, ठाकुर र ओलीबीच पछिल्लोपटक भएको कुराकानीपछि एमालेका नेताहरूले पनि संविधान सशोधनप्रति नकारात्मक धारणा राखेका छैनन्। यो खबर आजको नागरिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement