प्रधानमन्त्री हुंदा गरेको राम्रो काम छोरी गंगा र ज्वांई जिवनले ध्वस्त बनाएको ओम शर्माको आरोप


काठमाण्डु – नेकपा माओवादीका केन्द्रीय सदस्य ओम शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को विरोध गरेका छन् । माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै शर्माले दाहालले प्रधानमन्त्री हुंदा गरेको राम्रो कामलाई उनकी छोरी र ज्वांईले खाइदिएको आरोप लगाए ।

उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालका छोरा छोरीले सबै सिध्याएको भन्दै सच्चिन चेतावनी दिए । प्रधानमन्त्री दाहालका ज्वांई जीवन आचार्य अहिले प्रदेशसभा सदस्य छन् । उनि माओवादीमा चैते कार्यकर्ताका रुपमा चिनिन्छन् । आचार्यलाई कोशी प्रदेशमा मन्त्री बनाएको भन्दै माओवादीभित्र विरोध छ ।

माओवादी केन्द्रको प्रवास कमिटी अध्यक्ष समेत रहेका नेता शर्माले ज्वांई जीवन शर्मालाई रोएको भरमा अध्यक्ष दाहालले मन्त्री बनाएको भन्दै आपत्ति जनाए । उनले जनताका छोराछोरी संगठन बनाउन गाउं गाउं जाने तर दाहालका छोरी ज्वांईले भने संघर्ष विना नै लाभ लिएको भन्दै विरोध जनाए ।

शर्मा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका बहिनी ज्वांई हुन् । जनार्दन र दाहालको सम्बन्ध सुमधुर नभएको बेला शर्माले अध्यक्ष दाहालमाथि कडा टिप्पणी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले अध्यक्ष दाहालसहित माओवादी नेताहरूको सम्पत्ति समेत छानबिन गर्नुपर्ने धारणा समेत राखे । माओवादीमा विशेष महाधिवेशन गर्ने चर्चा चलिरहेका बेला नेता शर्माले अध्यक्ष दाहालले विशेष र विधान महाधिवेशन गर्ने विश्वास आफुलाई नलागेको दावी गरे ।

माओवादी केन्द्रको आयु पांच हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement