राजदूत पराजुलीको पहलमा ओमानबाट फर्किए ८३० जना नेपाली


ओमान – नेपाली राजदूतावास, ओमानले पाँच वटा उडानमार्फत ८ सय ३० जना नेपालकिो उद्धार गरेको छ । ओमान दूतावासले समस्यामा परेका नेपालीको उद्धार कार्यलाई जारी राखेको छ ।

दूतावासले न्यूनतम हवाई भाडामा सरकारले तय गरेको मापदण्ड अनुसार आज थप १६५ जनालाई नेपाल फर्काएको हो । दुतावासले पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काएको हो । त्यस्तै झापाकी नेत्र कुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ ।

राउत वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आएको र २०७० साल देखी सम्पर्क विहिन रहेको भनी उनका छोरा नवराज राउतले आफ्नी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिएअनुसार खोजी गरेर स्वदेश फर्काएको हो ।

उनको स्वास्थ्य अवस्था नाजुक रहेको हुँदा निजलाई घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमानमा आई घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई आजकै उद्धार उडान मार्फत नेपाल फर्काईएको छ ।

त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना जति नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गरिएको दूतावासले जनाएको छ ।

विमानस्थलमा नेपाली राजदूतावास मस्कटकी महामहिम राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण नेपालीहरुलाई स्वदेश फिर्तीको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड–१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement