काठमाण्डु – नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये सक्रिय संक्रमित २७ हजार ५३ जना छन्।
७३ हजार २३ जना निको भइसकेका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय नाघिसकेको छ। शुक्रबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो दिनमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। तीमध्ये आधा संक्रमित काठमाण्डु उपत्यकामै थपिइरहेका छन्। जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित अहिलेको स्थिति आउनु स्वाभाविक रहेको बताउँछन्। ‘कोरोना संक्रमण पूरै रोकिने अवस्था थिएन’, डा. दीक्षित भन्छन्, ‘पूर्णरूपले रोक्छौं भन्ने सोच नै गलत थियो।’ सबै नागरिकलाई थुनेर राख्ने सम्भावना नभएकाले कोरोना फैलिनु स्वाभाविक भएको उनी बताउँछन्।
उनका अनुसार सरकारले राम्ररी काम गर्न सकेको भए संक्रमितको संख्या यति धेरै हुँदैनथ्यो। सरकार परीक्षणमै चुकेको उनको ठम्याइ छ। ‘मुख्यतः हामी परीक्षणमा चुकेका हौं’, उनी भन्छन्, ‘परीक्षण जति गर्नुपथ्र्यो त्यति गर्न सकेनौं। पर्याप्त परीक्षण गरेको भए संक्रमितको संख्या ५० हजारमा सीमित हुन सक्थ्यो।’
परीक्षण गर्ने तरिका पनि उपयुक्त नभएको डा. दीक्षितको ठम्याइ छ। ‘हामीले जोखिमका क्षेत्रहरूमा गएर परीक्षण गरेनौं’, उनी भन्छन्, ‘त्यसो गरेको भए मृत्युदर पनि कम हुन्थ्यो।’ यसबाहेक सीमामा आवतजावत रोक्न नसक्नु, क्वारेन्टाइन व्यवस्थापन नगर्नुले संक्रमणको यो स्थितिमा आइपुगेको उनको बुझाइ छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन मुख्यतः परीक्षण, आवतजावत, क्वारेन्टाइन, आइसोलेसन, आरडीटीको अलमलले यो स्थितिमा ल्याएको बताउँछन्। ‘हामीले सुरुका दिनमा हवाई मार्ग बन्द गरे पनि भारतबाट त्यति धेरै मान्छे आउँछन् भनेर सोचेनौं’, डा. पुन भन्छन्, ‘मुख्यतः हामी चुकेको यहाँ पनि हो। मान्छे ह्वारह्वार आए। त्यसमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकेनौं। त्यहींबाट सुरु भएको हो।’
उपत्यकामा कोरोना फैलनुमा बाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्न नसक्नु रहेको उनको ठम्याइ छ। ‘अहिले उपत्यकामा भयावह स्थिति बनेको छ’, उनी भन्छन्, ‘सुरुमा लकडाउनपछि बाहिरी जिल्लाबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने सोच कसैले सोचेन। सरकारले होम क्वारेन्टाइन बस्ने भनेको थियो तर कोही बसेनन्। त्यसले समस्या बढायो।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया