समानुपातिक सांसदको सूची हेरफेर गर्ने जिम्मा अध्यक्ष ओलीलाई


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समानुपातिक सांसदको सूची थपघट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बिहीबार राति अबेरसम्म बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवार सूची थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले यसअघि असोज ३ गते समानुपातिक सांसद हुनेको नाम निर्वाचन आयोगमा बुझाएको थियो ।

सो लिष्टमा आवश्यक उम्मेदवारको नाम हेरफेर गर्ने जिम्मा ओलीलाई दिइएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘हामीले जे लिस्ट तयार पारेको थियौं वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्यूलाई आवश्यक थप घट गर्न सक्ने अधिकार प्रत्यायोजन गरेका छौं,’ गुरुङले भने । बन्दसूची हेरफेर गर्न आयोग १६ असोजसम्मको मिति तोकेको छ ।

दश बुँदे पक्षधर अर्थात नेकपा एमालेका पूर्व माधव नेपाल समूह र पूर्वमाओवादी नेताले ओलीले एकलौटी सूची आयोगमा बुझाएको भन्दै ब्यापक विरोध गरेकाे थियाे ।

बिहीबार पाएको जिम्मेवारीसँगै ओलीले देशभरबाट सिफारिस भएर आएका नामहरू आफू निकट र अनुकूललाई उम्मेदवार बनाउन सक्नेछन् । त्यस्तो अवस्थामा ओलीका आलोचकहरू निसानामा पर्ने देखिन्छ । आयोगको कार्यक्रम अनुसार आगामी २३ असोजमा मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement